
नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक ऐतिहासिक फोटो प्रदर्शनी गर्ने भएको छ ।
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मंगलबार बिहान साढे ११ बजे सभापति शेरबहादुर देउवाले फोटो प्रदर्शनीको उद्घाटन गर्ने विश्वकर्माले जानकारी दिए ।
गिरिजासँग सम्बद्ध १५१ थान ऐतिहासिक, राजनीतिक, शान्ति प्रक्रिया र ऐतिहासिक महत्वका फोटो प्रदर्शनीमा राखिएको छ ।
विश्वकर्माका अनुसार प्रदर्शनीबाहेक क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिता जोखिम अनुभवजस्ता विमर्शको कार्यक्रम राखिएको छ ।
सभा हलमा हुने विमर्श सभा क्रान्तिदेखि शान्तिसम्म विमर्श कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र एमाले नेता प्रदीप ज्ञवाली वक्ताको रुपमा सहभागी हुनेछन् । यसको संयोजन डा. गेजा शर्मा वाग्लेले गर्नेछन् ।
समुन्नतिको दोस्रो जग शीर्षकको कार्यक्रममा काठमाडौं युनिभर्सिटीका प्राध्यापक अच्युत वाग्ले, राजनीतिक विश्लेषक हरि शर्मा र मन्चला झा वक्ताको रुपमा सहभागी हुनेछन् ।
साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको विश्वकर्माको भनाइ छ ।
फोटो प्रदर्शनी र कार्यक्रम बिहान ११ देखि साँझ ६ बजेसम्म चल्नेछ ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी हुने विश्वकर्माले जानकारी दिए ।