२४ जेठ २०८३, आइतबार

सेबोन अध्यक्ष नियुक्तिमा अर्को प्रक्रिया शुरू: पुरानै सदस्य राखेर नयाँ समिति गठन

असार १७, २०८१
काठमाडौं
सेबोन अध्यक्ष नियुक्तिमा अर्को प्रक्रिया शुरू: पुरानै सदस्य राखेर नयाँ समिति गठन

धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटका निम्ति सरकारले पुनः पुरानै सदस्य रहने गरी नयाँ समिति गठन गरेको छ ।

गत शुक्रवार रद्द भएको अध्यक्ष छनोट प्रक्रियालाई अघि बढाउन सरकारले सोमवार बसेको मन्त्रिपरिषद बैठकले पुरानै सदस्य राखेर नयाँ समिति गठन गरेको हो ।

समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव मधुकुमार मरासिनी र अर्का सदस्यका रूपमा उदय निरौला रहेको समिति गठन गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

शुक्रवार बसेको पुरानो समितिको बैठकले प्रक्रिया रद्द हुने निर्णय गरेको थियो ।

अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत लगातार भएको २ पटकको प्रस्तुतीकरणमा ३ जना दुवै पटक अनुपस्थित भएका थिए । पछिल्लो प्रस्तुतीकरण गत हप्ता बुधवार भएको थियो ।

हाल नेप्सेको प्रमुख कार्यकारी अधिकृत रहेका कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं 'संगठित'रूपमै दुवैपटक अनुपस्थित भएका थिए ।

यसअघि उनीहरू असार २ गतेको प्रस्तुतीकरणमा अनुपस्थित भएका ३ जना आवेदक बुधवार पनि पुनः अनुपस्थित भएपछि प्रक्रिया रोक्ने या अघि बढाउने विषयमा समिति अन्योलमा परेको थियो । 

आवेदकमध्ये सेबोनका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र अर्का आवेदक सन्तोषनारायण श्रेष्ठले भने दुवैपटक प्रस्तुतीकरण दिएका थिए ।

तीन जना सिफारिस गर्नुपर्ने कानूनी बाध्यता भएको तर दुई जना मात्र प्रस्तुतीकरणका लागि उपस्थित भएपछि समितिले महान्याधिवक्ता कार्यालयको समेत राय लिएको थियो ।

प्रक्रिया अघि बढाउने कि रोक्ने भन्ने अन्योलका बीच शुक्रवार समितिले प्रक्रिया नै रद्द गरेको सूचना निकालेको थियो ।

बोर्डको अध्यक्ष नियुक्तिका लागि ६ महिना अघि समिति गठन गरेर प्रक्रिया थालिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्