
पहिलेपहिले तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा विवाह व्रतबन्ध हुँदा पञ्चैबाजा बजेका सुनिन्थे तर, धेरै समय भयो यहाँका गाउँघरमा त्यस्ता बाजा गुञ्जिन छाडेका छन् । यस्तो कर्म गर्ने पुरुषले पनि आजभोलि बाजा बजाउने रुचि देखाउँदैनन्, त्यसैले पञ्चैबाजा बजाउने संस्कृति नै लोपहुने अवस्थामा पुगेको हो ।
यही चिन्ताले उपमहानगरपालिका–४ का महिला केही समययता पञ्चैबाज संरक्षण अभियानमा जुटेका छन् । यहाँस्थित जनचेतना आमासमूहले पञ्चैबाजा खरिद गरेर विवाह, व्रतबन्ध, पूजाआजामा बाजा घन्काउन थालेका छन् । यसले पञ्चैबाजा संरक्षण मात्र नभई आयआर्जनमा टेवा पुगेको स्थानीयको भनाइ छ ।
सो समूहमा आबद्ध महिला दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइसहित छिल्लर तथा मादल किनेर व्यावसायिकरूपमा पञ्चैबाजा संरक्षण अभियानमा जुटेका अध्यक्ष कस्तुरा खड्काले बताइन् । 'पहिले गाउँमा विवाह, व्रतबन्ध हुँदा पञ्चैबाजा बज्थे तर, पछिल्लो समय यहाँका गाउँघरमा ती बाजा बज्न छाडेका छन् । त्यसैले हामीले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर यो अभियान सुरुआत गरेका छौँ,' उनले भनिन् ।
गत वर्षको भैलो खलेर सङ्कलन गरिएको एक लाख ४० हजारबाट पञ्चैबाजाका खरिद गरेर र एक वर्षसम्म बाजा बजाउन सिकेको अध्यक्ष खड्काले बताए । 'कहिलेकाहीँ मात्रै बजाउथ्यौँ, विवाह, व्रतबन्ध भएमा बोलाएको ठाउँमा जान्थ्यौँ, त्यसो गर्दागर्दै बजाउन सिकियो,' उनले भनिन्, 'अहिले भने यहाँ हुने अधिकांश विवाह, व्रतबन्ध, पूजा, मृत्यु संस्कारलगायत कार्यक्रममा हामी नै रोजाइमा पर्न थालेका छौँ ।'
समूहले पञ्जैबाजा बजाउँदा लाग्ने पारिश्रमिकको यकिन मूल्य भने तोकेको छैन तर, बाजा बजाएमा विवाहमा १० हजार, पूजामा पाँच हजार, मृत्यु संस्कारमा पाँच हजार दिने गरिएको छ । अहिलेसम्म मूल्य तोकेर शुल्क नदिने गरे पनि अब भने निश्चित दर निर्धारण गर्ने समूहको योजना छ । यस समूहमा हाल २५ जना आबद्ध छन् ।
समूहमा आबद्ध महिलाले सामूहिकरूपमा अन्य सामाजिक कार्य पनि गर्दै आएका छन् । गाउँमा हुने झै–झगडा, पारिवारिक बेमेल, महिला हिंसाजस्ता घटनामा यो समूहले सक्रियता देखाउने गरेको छ ।
सधैँ चुलोचौकोमा सीमित हुने यहाँका महिला पञ्चैबाजा संरक्षणमा अग्रसर हुँदा उनीहरूलाई हेर्ने सामाजिक दृष्टिकोण पनि बदलिँदै गएको धेरैको बुझाइ छ । सामाजिक काममा लाग्दा समाजले र आर्थिकोपार्जन हुँदा परिवारबाट पाउने सम्मानले समूहमा आबद्ध महिला दङ्ग छन् ।
अभियानको निरन्तरताका लागि तुलसीपुर उपमहानगरपालिकाले पनि पञ्चैबाजा संरक्षणमा सहयोग पुग्नेगरी थोरै भए पनि बजेट विनियोजन गरेको छ ।