
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यराति भएको सम्झौताले आफू आश्चर्यमा परेको बताएका छन् ।
सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझसम्म पनि ‘केही भएको छैन’ भनेको प्रचण्डले बैठकमा सुनाए ।
नयाँ घटनाक्रमका सम्बन्धमा मंगलबार पार्टी पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नसोचेको अवस्था आएको बताएका हुन् ।
प्रचण्डले वर्तमान सत्ता गठबन्धन जोगाउनलाई आफूले अन्तिमसम्म पहल गर्ने बताएका थिए ।
‘आज पनि केपीजी राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा गर्न आउनुभएको थियो । कूटनीतिक कुरा नगरौं, खुला कुरा गरौं भनेर मैले भनेँ,’ प्रचण्डको ब्रिफिङलाई उद्धृत गर्दै माओवादी उपमहासचिव गिरिराजमणि पोखरेलले लोकान्तरसँग भने ।
कांग्रेस–एमालेबीच भएको सहमति बाहिर नआए पनि उनीहरूबीच नयाँ सरकार बनाउने विषयको कुरा टुंगिसकेको ब्रिफिङ प्रचण्डले गरेका थिए ।
‘हिजो रातिसम्म पनि ओलीजीले केही भएको छैन भन्नुभएको थियो । राति सवा १२ बजे हस्ताक्षर गरेको सन्दर्भमा कुरा स्पष्ट भइसक्यो । संविधान संशोधन गर्नेबारे जे कुरा आएको छ, त्यसबारे सबै दलसँग छलफल गर्छौं,’ प्रचण्डले भने ।
अहिलेसम्म पनि सरकार ‘इन्ट्याक’ रहेकाले संसद् सामना गरेर जाने मनस्थितिमा आफू रहेको प्रचण्डले बताएका थिए ।
‘विना कारण गठबन्धन फेर्नुपर्ने आवश्यकता थिएन, संसद् सामना गरेरै अगाडि बढ्नुपर्छ भन्ने धारणा छ,’ प्रचण्डले भनेका थिए । बैठकमा अन्य सदस्यहरूले भने धारणा राख्न पाएनन् ।
बैठकपछि सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले तत्काल राजीनामा नगर्ने बरु संसद् फेस गर्ने बताए ।
कांग्रेस र एमालेबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने गरी सोमबार राति सहमति भएको थियो ।