
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरिएको तस्वीर (फोटो) प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।
‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा मंगलवार पार्टी कार्यालय सानेपामा भएको फोटो प्रदर्शनीमा पुगेका प्रचण्डले सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग केहीबेर कुराकानीसमेत गरेका थिए ।

आफूलाई पाखा पारेर कांग्रेस र नेकपा (एमाले)ले सत्ता समीकरणमा हात बढाएको परिस्थितिका बाबजुद नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड सानेपा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँगै देखिएका हुन् ।
प्रदर्शनीमा स्व कोइरालाका जीवनीका आधारिक तस्वीरहरू राखिएका छन् ।
नेपालमा सशस्त्र द्वन्द्वको अन्त्यगरी तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइरालाको १००औँ जन्मजयन्ती मंगलवार विविध कार्यक्रम गरी मनाइँदैछ ।