
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधनमा कांग्रेस र एमालेबीच बनेको समझदारीलाई स्वागत गरेको छ ।
नयाँ समीकरण बनाउँदा कांग्रेसले एमालेले निर्वाचन प्रणाली, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको संख्यामा घटाउनेसहितका विषयमा संविधान संशोधन गर्ने सहमति गरेपछि राप्रपाको पदाधिकारी बैठकले उक्त समझदारीलाई स्वागत गरेको हो ।
‘कांग्रेस र एमालेले संविधान संशोधन गर्ने समझदारी विषय आएको छ । संविधान संशोधन गर्नैका लागि पहिलो र दोस्रो दल मिल्नु स्वागतयोग्य कुरा हो,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘हामीले प्रारम्भिक रूपमा यसलाई स्वागत गरेका छौं । यद्यपि के–के कुरामा संशोधन हुने प्रस्ताव आउँछ यसलाई हामी नजिकबाट हेर्छौं ।’
संशोधनका विषय र प्रक्रियालाई हेरेर थप धारणा बाहिर ल्याउने उनले बताए ।
राप्रपाले राज्यको खर्च बढाउने गरी भएको सांसदको संख्या, समानुपातिक प्रणालीको विरोध गर्दै आएको छ ।