
अविरलको वर्षाले लुम्बिनी प्रदेश सरकारका मन्त्रालयहरू डुबानमा परेका छन् । दाङको देउखुरीस्थित लुम्बिनी प्रदेशको राजधानीमा केही मन्त्रालय डुबानमा परेका हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुन मगरले लोकान्तरलाई जानकारी दिए ।

‘दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको छ’ उनले भने, ‘केही क्षेत्रमा कन्ट्रक्सनको काम भइरहेकाले पनि पानी पसेको हो । मन्त्रालयका भवनहरू नालीभन्दा तल हुँदा समस्या देखियो ।’ अहिले यस क्षेत्रमा ठूलो पानी परिरहेको छ । राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाको पानीको सहज निकास छैन । जसले गर्दा समस्या आइरहेको हो ।
दाङमा शुक्रवार रातिदेखि परेको भीषण वर्षा बस्तीमा पस्न थालेको छ । लगातार परिरहेको वर्षाका कारण देउखुरीका बस्ती डुबानमा परेका छन । राप्ती गाउँपालिका–५ लठ्ठहवा, पहरुवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ ।
बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम शुरू भएको छ । सुरक्षा निकायहरूले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् ।