
फेरिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक शनिवार दिउँसो जारी छ । बैठक दिउँसो साढे ३ बजेपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको हो ।
कार्यसमितिको बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने कांग्रेसले जनाएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्नेगरी नेकपा (एमाले)सँग मिलेर नयाँ सत्ता समीकरणको सहमति गरेपछि पहिलोपटक कांग्रेस संसदीय दलको बैठक बसिरहेकाे हो ।
सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
राजीनामा नदिने अडान लिएका प्रधानमन्त्री प्रचण्डले संसद् ’फेस’ गर्ने भएका छन् । प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने भएका छन् ।