३० असार २०८३, मंगलबार

पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन

असार २२, २०८१
काठमाडौं
पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन् ।

बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री लामिछानेले ‘कमान्ड पोस्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्‌बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गरे ।

'हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन । क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौं भन्ने विषय महत्त्वपूर्ण हुन्छ,' गृहमन्त्री लामिछानेले भने, 'हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ । हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ ।'

उनले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्