
काठमाडौं उपत्यकामा भइरहेको अविरल वर्षाका कारण मानवीयसँगै केही भौतिक क्षति पनि भएको छ ।
शुक्रवारदेखिको अविरल वर्षासँगै आएको पहिरोमा परी काठमाडौंको नागार्जुन नगरपालिकामा शनिवार बिहान एक जनाको मृत्यु भएको छ ।
नागार्जुन ३ स्थित सिङ्गल ट्रीनजिकै गएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
पहिरो आएर ट्रपिकल रेस्टुरेन्टको किचन कोठा पुरिँदा गोरखा लखन थापा गाउँपालिका ६ घर भई हाल सोही रष्टुरेन्टमा किचन हेल्परको रूपमा काम गर्ने २२ वर्षीय मनोज बिक घाइते भएका थिए ।
तत्कालै उनलाई स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । अवस्था गम्भीर रहेका उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता मैनालीले जानकारी दिए ।
त्यस्तै तारकेश्वर नगरपालिका ३ जीतपुरफेदीका श्रीमणि जमकट्टेलको घरको पर्खाल भत्किएको छ । सोही ठाउँ निवासी लोकनाथ जमकट्टेलको जस्ताले बनेको एकतले घरमा माथिबाट पहिरो खसेको छ । कुनै मानवीय क्षति नभए पनि घरको पर्खाल र कोठाभित्र रहेको दराज, खाटलगायत अन्य जिन्सी सामानमा क्षति पुगेको छ ।

त्यसैगरी दक्षिणकाली नगरपलिका वडा नम्बर ८ छैमलेको चुत्राघारीमा पहिरो गई घर पुरिएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भण्डारखर्कबाट टोली घटनास्थल पुगेको थियो । यद्यपि घरको भौतिक अवस्थासँगै मानवीय पनि क्षति नभएको प्रवक्ता मैनालीले बताए ।
यस्तै पहिरो गई काठमाडौं–हेटौँडा सडक दुवैतर्फ अवरुद्ध रहेको उनले जानकारी दिए ।
यसैगरी काठमाडौं महानगरपालिकाको घट्टेकुलोस्थित भित्री सडकको छेउमा करिब एक मिटर भासिएको छ । उक्त स्थानमा प्रहरीले रोड डिभाइडर राखिएकाे र दुवैतर्फ सवारीसाधन आवतजावत भइरहेकाले अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण काठमाडौं उपत्यकाभित्र रहेका नदीका करिडोरस्थित सडकखण्डमा प्रहरीले २४ सै घण्टा गस्ती गरी नदीको सतहबारे निगरानी गरिरहेको प्रवक्ता मैनालीले बताए ।
‘उपत्यकाको अवस्था हालसम्म खतरामुक्त नै रहेको छ । विपत् कार्यमा खोज तथा उद्धार कार्यका लागि प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय नदीस्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछ ।’