
नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनाउन सहमति गरिएको जनाएको छ ।
शनिबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठक यस्तो निर्णय गरेको हो ।
'नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेको हुँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव कार्य सूचीमा समावेश गर्न माग गर्नुभएकोमा यो बैठक उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दछ,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
साथै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
यस्तै, आजको बैठकले कांग्रेस र एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गर्दै समर्थन गर्ने निर्णय गरेको छ ।