२८ असार २०८३, आइतबार
संसदीय दलको बैठकमा देउवा

‘जनतामा आशा जगाउन कांग्रेस-एमाले मिल्नैपर्ने अवस्था आयो, ओली २ वर्ष प्रधानमन्त्री’

असार २२, २०८१
काठमाडौं
‘जनतामा आशा जगाउन कांग्रेस-एमाले मिल्नैपर्ने अवस्था आयो, ओली २ वर्ष प्रधानमन्त्री’

एमालेसँग मिलेर नयाँ सरकार बनाउने समझदारी गरेको नेपाली कांग्रेसले संविधानको धारा ७६(२) अनुसार नै केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निर्णय गरेको छ । 

बानेश्वरस्थित संसद् भवन परिसरको ल्होत्से हलमा शनिबार बसेको संसदीय दलको बैठकले राजनीतिक स्थायित्वको लागि एमालेसँग मिल्न आवश्यक भएको निर्णय गरेको हो । 

बैठकमा सभापति शेरबहादुर देउवाले नागरिकमा चरम निराशा छाएको भन्दै राजनीतिक स्थायित्वको लागि दुई दल मिल्नुपरेको बताएका थिए ।

‘नागरिकमा धेरै निराशा छाएको छ । यस्तो बेलामा उनीहरूमा आत्मविश्वास पनि बढाउन जरुरी छ । यसैले मुलुकको स्थायित्वको लागि संविधानको संशोधन गरेर स्थिरता लिनु आवश्यकता भएकोले एमालेसँग मिलेर सरकार बनाउने समझदारी भएको हो,’ देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस सांसद सञ्जय गौतमले भने । 

देउवाले संविधानको धारा ७६(२) अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने भन्दै यो निर्णयको पक्षमा उभिन पनि सांसदहरूलाई निर्देशन दिएका छन् । 

देउवाले बैठकमा दुई वर्ष ओली र त्यसपछि आफूले सरकारको नेतृत्व गर्ने जानकारी गराएका थिए । संविधान शंसोधनका विषय टुंगिन नै बाँकी रहेको भन्दै देउवाले अनावश्यक हल्ला भएको बताएका थिए ।

निर्वाचन प्रणालीलाई थप बलियो बनाउनुपर्ने पक्षमा भए पनि विषय तोकेर सहमति नभएको देउवाले बैठकमा बताएका थिए । संविधान शंसोधनका लागि सबै दलबीच वार्ता र संवाद गरेर जानुपर्ने उनले बताएका थिए । 

संसदीय दलको कार्यसमितिमा यी विषयमा मोटामोटी छलफल भएपछि यी विषयमात्रै राखेर दलको बैठक टुङ्ग्याइएको थियो । बैठकमा देउवा र प्रमुख सचेतक रमेश लेखक बाहेकका सांसदले बोलेनन् ।

बैठकले असार १७ गते एमालेसँग भएको राष्ट्रिय सहमतिको सरकार गठनको सहमतिलाई स्वागत गरेको छ । 

गणतन्त्र, संघीयता र समावेशीतालाई व्यवस्थित गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र संविधान शंसोधनमा मिलेर अगाडि बढ्न सरकारमा आलोपालो गरेको पनि कांग्रेसले जनाएको छ ।

यस्तै, आलोपालोमा पहिले ओली र त्यसपछि कांग्रेस सभापतिले देउवाले नेतृत्व गर्ने समझदारी भएकोले यो सहमति कार्यान्वयन लागू गराउन दृढ भएको कांग्रेसको निर्णय छ ।

ओली संविधानको धारा ७६(२) अनुसार नै प्रधानमन्त्री बन्ने विषय कांग्रेस संसदीय दलको बैठकबाट प्रस्ट्याएको छ । कतिपयले यो धारा प्रयोग भइसकेको दाबी गरे पनि कांग्रेसले धारा ७६(२)ले बाधा नपारेको बताएको हो ।

बैठकले असार २८ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा भोट हाल्ने निर्णय पनि गरेको छ ।

१७ असारमा दुई दलबीच भएको सहमतिलाई एमालेभन्दा पनि अगाडि कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको सांसद रामहरि खतिवडाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्