
शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी पहिरामा परी ५ जनाको मृत्यु भएको छ । यस्तै सातजना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका गृह मन्त्रालयस्थित विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव विष्णु भुसालले जानकारी दिए ।
“पहिरोमा परी काठमाडौँ नागार्जुनमा एक, स्याङ्जामा दुई तथा पर्वतमा दुईजना गरी पाँचजनाको मृत्यु भएको छ भने सातजना बेपत्ता र १४ घाइते भएका छन् ”, उनले भने ।
यसैगरी, बाढीपहिराका कारण बेपत्ता हुनेहरुमा तनहुँमा तीन, स्याङ्जामा एक, दाङमा एक, दोलखामा एकजना रहेका तथा घाइते हुनेहरूमा जाजरकोटमा एक, स्याङ्जामा सात, तनहुँ चार, ओखलढुङ्गा दुईजना रहेका सहसचिव भुसालले बताए ।