काठमाडौं, ७ कार्तिक– उर्जामन्त्रीबाट बिनाविभागीय मन्त्री बनाइएका महेन्द्रबहादुर शाहीले आफ्नो आधा कार्यकाल सेल्फी खिच्दैमा बितेको बताएका छन् ।
माओवादी नेता शाहीले गत साउन ११ गते उर्जामन्त्रीको रुपमा सपथ ग्रहण गरेका थिए ।
उर्जामन्त्रीको पदभार ग्रहण गरेपछिको आफ्नो मंगलवार कालिकोटमा आयोजित पत्रकार सम्मेलनमा शाहीले उर्जा मन्त्रीको पदभार ग्रहण गरेपछिको आफ्नो आधा कार्यकाल कार्यकर्ताको बधाई र शुभकामना ग्रहण गर्दैमा वितेको बताए ।
‘८३ दिन उर्जा मन्त्रालय सम्हाल्दा आधाजसो दिन त सेल्फी र फोटो खिच्दैमा बिते,’ शाहीले भने, ‘मन्त्री भएपछि करिब ३५ दिन त नेता कार्यकर्ता शुभचिन्तकको बधाई र शुभकामना कार्यक्रममा सहभागी भइयो ।’
बाँकी रहेका दिनमा पनि आफूले उर्जा क्षेत्रमा धेरै काम गरेको मन्त्री शाहीले दावी गरे । मोबाइल एप्स निर्माण तथा अनलाइन सेवा मार्फत ग्राहकहरुले विद्युत महशुल भुक्तान गर्नसक्ने व्यवस्था लागू गर्नु आफ्नो मुख्य सफलता भएको उनले बताए ।
मन्त्री शाहीले विद्युत खरिद विक्री तथा उत्पादन, प्रशारण र वितरणलाई व्यवस्थित बनाउन व्यवस्थापिका संसद्बाट विद्ययेक पारित गराई विद्युत नियमन आयोग ऐनसमेत तयार गरेको बताए । ‘कर्णाली करिडोर अन्तर्गतको ४०० केभि प्रसारण लाइनको डिपीआर तयार गर्नेदेखि विद्युतको केन्द्रीय प्रसारण लाईन नपुगेको कर्णाली अञ्चलमा राष्ट्रिय प्रसारण ग्रीडबाट विद्युत जोड्ने प्रक्रियाको सुरुवात गरेको छु,’ उनले भने ।
मन्त्री शाहीले प्रदेशसभा निर्वाचनका लागि कालीकोटको ‘ख’ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । उनी वाम गठवन्धनबाट प्रदेश नम्बर ६ का लागि मुख्यमन्त्रीको उम्मेदवार बन्ने चर्चा छ ।