
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओलीले छल गरेको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बिफ्रिङ गर्दै प्रचण्डले तीन घण्टा आफूसँग सकारात्मक कुरा गरे पनि कांग्रेससँग मिलेर छल गरेको बताएका हुन् ।
दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादीका मुख्य सचेतक हितराज पाण्डेले ओलीबाट छलमा परेको बताएको जानकारी दिए ।
‘ओलीजी र मबीच असार १७ गते तीन घण्टा कुराकानी हुँदा सकारात्मक ढंगले अगाडि बढ्ने, सरकारलाई पनि सहमतिमा अगाडि बढाउने समझदारी भएको थियो । यतिमात्रै होइन ओलीजीले कांग्रेससँग दस्तखत गरिसकेपछि पनि मसँग भेट गर्दै कांग्रेससँग सामान्य कुराकानी मात्रै भएको भन्नुभएको थियो,’ बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘त्यसपछि केपी ओलीजीले ३ जना नेता बसौं पनि भन्नुभयो । र मैंले ओलीजी यसो भन्दै हुनुहुन्छ भनेर के भएको हो देउवालाई सोध्दा उहाँले सहमतिमा हस्ताक्षर भइसक्यो । सरी भन्नुभयो । तर ओलीले ढाँट छल गर्नुभयो ।’
आफूले वाम शक्तिहरू मिलेर अगाडि बढ्ने वातावरण बनाए पनि ओलीले षडयन्त्र गरेको प्रचण्डले बैठकमा बताएका थिए ।
ओलीको यस्तो खेल्ने शैलीले उनैलाई घाटा पुर्याउने माओवादीको भनाइ छ ।
माओवादीको बैठकले असार २८ गते प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।