१० साउन २०८३, आइतबार

युद्धमा मारिएका भारतीयको परिवारलाई क्षतिपूर्ति दिँदै रूस, मोदीको भ्रमणमा उठेको थियो कुरा

असार २६, २०८१
काठमाडौं
युद्धमा मारिएका भारतीयको परिवारलाई क्षतिपूर्ति दिँदै रूस, मोदीको भ्रमणमा उठेको थियो कुरा

रुसले युक्रेनविरुद्ध जारी युद्धमा मारिएका भारतीयका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया सुरु गरेको छ ।

दुई मृतकका परिवारले क्षतिपूर्तिको प्रक्रिया शुरू भएको जनाएको बीबीसीले उदृत गरेको छ । यीमध्ये एक परिवारले रुसी नागरिकता स्वीकार गर्न पनि सहमति जनाएका छन् ।

गुजरातका अश्विन भाइ मांगुकियाले भने, 'उनीहरूले मेरो खातामा ४५ लाख रुपैयाँ जम्मा गरिसकेका छन् । १ करोड ३३ लाख रुपैयाँको क्षतिपूर्तिको बाँकी रकम थप दिइनेछ ।

उनका अनुसार सम्भवतः यही जुलाई महिनाको १५ वा २० तारिखसम्म उनले यो प्राप्त गर्न सक्ने बताइएको छ ।

गत फरवरी २१ गते मिसाइल आक्रमणमा परी अश्विन भाइ माङ्गुकियाका छोरा हमिलको मृत्यु भएको थियो ।

उनी जम्मा २३ वर्षका थिए । उनी एजेन्टको ठगीको सिकार बनेका थिए । एजेन्टले उनलाई रुसी सेनामा सहायकको रूपमा जागिर दिने वाचा गरेका थिए ।

तर हामिललाई अन्य धेरै भारतीयहरू भए जस्तै मोर्चामा पठाइयो । एजेन्टहरूले उनी र अरूलाई पनि रूसमा राम्रो तलबको जागिर दिने वाचा गरेका थिए, तर उनीहरूलाई युक्रेनविरुद्ध चलिरहेको युद्धमा लड्न पठाइयो ।

सामान्य परिवारका कम्तीमा ५० जनाले राम्रो जागिर पाउने आशामा एजेन्टलाई ठुलो रकम तिरेका थिए ।  

रुसी सेनामा ‘हेल्पर’ जागिर दिने वाचामा एजेन्टले उनीहरूबाट प्रतिव्यक्ति करिब तीन लाख रुपैयाँ असुलेका थिए ।

रुस जाने यी सबै भारतीय युवाको उमेर २२ वर्षदेखि ३१ वर्षको बीचमा थियो ।

तिनका आमाबाबु वा दाजुभाइहरूले भारतमा कसैले अटोरिक्शा चलाउँथे भने कसैले ठेलामा चिया बेच्थे ।

पीडित र उनका परिवारका अनुसार उनीहरू रूस पुगेपछि घर पठाएको भिडियो सन्देशमा तालिमको नाममा युद्ध मोर्चामा पठाइएको आरोप लगाएका छन् ।

सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसको दुईदिने भ्रमण गरेका थिए । भ्रमणका क्रममा युद्धमा मारिएकालाई क्षतिपूर्तिको विषय पनि उठेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्