
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई ‘युद्ध होइन, शान्तिको सन्देश बुद्ध’ दिएको बताएका छन् ।
अस्ट्रियाको भियनामा भारतीय समुदायमाझ उनले विश्वलाई भारतले बुद्ध दिएको जिकिर गरेका हुन् । 'हजारौँ वर्षदेखि हामी आफ्नो ज्ञान र विशेषज्ञता बाँड्दै आएका छौँ । हामीले ‘युद्ध’ दिएनौँ, हामीले विश्वलाई ‘बुद्ध’ दिएका छौँ । भारतले सधैँ शान्ति र समृद्धि दिएको छ,' उनले भने ।
रुस भ्रमण सकेर अष्ट्रिया पुगेका मोदीले बुधबार भारतीय समुदायलाई सम्बोधन गर्दै भारतको अर्थतन्त्र, राजनीति, नीति र अस्ट्रिया र भारतबीचको ऐतिहासिक सम्बन्धबारे कुराकानी गरेका थिए ।
मोदी रुस पुगेकै दिन युक्रेनको बाल अस्पतालमा मिसाइल हमला भएको थियो, जसमा धेरैको मृत्यु भएको थियो । त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको प्रधानमन्त्री मोदीको भेटमा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रश्न उठेको थियो । उनले भने, 'भारत र अस्ट्रियाबीचको सम्बन्ध ऐतिहासिक छ। करिब २०० वर्षअघि भियना विश्वविद्यालयमा संस्कृतको अध्ययन शुरू भएको थियो।'
४१ वर्षपछि पहिलोपटक भारतीय प्रधानमन्त्री अस्ट्रिया पुगेका छन् । यसअघि आफ्नो तेस्रो कार्यकालमा मोदीले आफ्नो पहिलो विदेश भ्रमणको रूपमा रुसलाई रोजेका थिए ।
अस्ट्रियाको एकदिने भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार स्वदेश फर्कदैछन् ।