
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो ।
विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार गीतालाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।
गीताले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर शिक्षक पदमा नियुक्ति लिएको आरोप थियो । त्यही कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी शिक्षिका गीताले जागिर खाँदा बोर्ड अफ सेकेण्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा पूरा गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकी थिइन् ।
आयोगको छानबिनमा उक्त प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो ।
आयोगले गीताविरुद्ध २०७९ असोज ७ गते विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।