०७ असार २०८३, आइतबार

कञ्चनपुरमा भएको अत्यधिक  वर्षाबारे अध्ययन गरिँदै

असार २७, २०८१
काठमाडौं
कञ्चनपुरमा भएको अत्यधिक  वर्षाबारे अध्ययन गरिँदै

पश्चिम नेपालको कञ्चनपुरमा अत्यधिक वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ । 
विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली पठाइसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आजै टोली कञ्चनपुर गएको हो । कँडेलले कुरा गर्दै आफूहरु धनगढी पुगिसकेको र भ्याएसम्म आजैबाट अध्ययन थालिने जानकारी दिइन् । 

उनका अनुसार त्यहाँको वर्षा मापन केन्द्रको अवस्था, वस्तुस्थिति तथा प्राविधिक पक्षको समेत अध्ययन गरिनेछ । कतिपय अवस्थामा वास्तविकतामाथि समेत प्रश्न उठेकाले वास्तविक के कस्तो हो, यन्त्र उपकरण ठीक छ, की छैनलगायत सबै विषयमा अध्ययन गरिने उनले बताइन् ।

अध्ययनका क्रममा त्यस क्षेत्रको क्षतिको अवस्थासहित स्थानीय पालिकाका प्रतिनिधि, स्थानीयबासी तथा सरकारी अधिकारीहरुसँग समेत जानकारी लिइने जनाइएको छ ।

कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुर क्षेत्रमा यही असार २३ र २४ गते परेको मुसल्धारे वर्षाले ७८ वर्षयताकै ‘रेकर्ड ब्रेक’ गरेको थियो । त्यहाँ विभागले स्वचालित वर्षा मापन केन्द्र स्थापना गरिएको छ ।

सो क्षेत्रमा २००३ सालयताकै बढी वर्षा मापन भएको थियो । विभागबाट प्राप्त विवरणअनुसार दोधारामा छ सय २४ मिलिमिटर, हनुमाननगरमा पाँच सय ७३ दशमलव ६ मिलिमिटर तथा सुन्दरपुरमा पाँच सय ५५ दशमल आठ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्