२१ असार २०८३, आइतबार
१८ महिनापछि ढल्यो माओवादीको सरकार

प्रचण्ड पदमुक्त, संसद्‌मा पाएनन् विश्वासको मत

असार २८, २०८१
काठमाडौं
प्रचण्ड पदमुक्त, संसद्‌मा पाएनन् विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएसँगै नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका हुन् ।

शुक्रवार भएको मत विभाजनमा उपस्थित २५८ सांसदमध्ये प्रचण्डको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो । एक जना तटस्थ रहे । प्रचण्डको पक्षमा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीले मात्र मतदान गरेका थिए । प्रचण्डले माओवादीका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीको १० गरी ६३ सांसदको मात्रै समर्थन पाएका हुन् । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

नेपाली कांग्रेस, एमाले, राप्रपा लगायत दलले प्रचण्डको विपक्षमा मतदान गरे । त्यसअघि प्रतिनिधि सभामा प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव राख्दै सरकारले राम्रो काम गर्दा गर्दै सरकार ढालिएको आरोप लगाएका थिए । उनले संविधानको रक्षाका लागि आफूले संसदमा विश्वासको मत फेस गरेको दाबी गरेका थिए ।

एमालेको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका थिए । उनले यही कार्यकालमा यसअघि चारपटक विश्वासको मत लिएका थिए । 

प्रचण्ड पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रचण्ड पदमुक्त भएको पत्र संसद् सचिवालयले पठाएसँगै राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेको छ । 

राष्ट्रपतिबाट सरकार गठन आह्वान भएमा कांग्रेस र एमालेले शुक्रवार नै राष्ट्रपति रामचन्द्र पौडेललाई बहुमत सांसदको हस्ताक्षर बुझाउने तयारी गरेका छन् । 

केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेगरी कांग्रेस र एमालेबीच असार १७ गते सहमति भएको थियो । 

कांग्रेस एमालेले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान हुनुपर्ने बताएका छन् । माओवादीले भने धारा ७६ (३) को सरकार बन्नुपर्ने बताउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्