
वि.सं १९६०/०६१ सालतिर बटौली (बुटवल) हाल बुटवल उपमहानगरपालिका–१ नयाँ सडकमा असर्फीलाल हलुवाईले ‘जिलेबीवाला (जेरी) बाजे’को दोकान खोलेका थिए । भारतबाट व्यापार गर्न आएका हलुवाईले पहाडमा घ्यू बेचेर/साटेर किनमेल गर्न आउने ढाक्रेलाई लक्षितगरी असर्फीलालले सामान्य ‘जिलेबी (जेरी) दुकान’ सञ्चालनमा ल्याएका थिए ।
नुनतेल लिन पहाडबाट झर्नेलाई लक्षितगरी शुरू गरेको दोकान चैतपछि भने हैजा आउने डरले बन्द गरेर उनी भारत फर्किन्थे । असर्फीलालले वि.सं १९८९ सम्म बटौलीमा जेरी बेचे । भैंसीको शुद्ध घिउ र भारतबाट आउने ‘पेवर’ चिनीको चास्नीमा बन्ने जेरी त्यतिबेला एक/दुई पैसामा बिक्री हुनुहुन्थ्यो।
त्यसपछि ‘जेरी दुकान’ उनका छोरा सीताराम हलुवाईले सम्हाले । जग्गा किनेर आफ्नो बनाए । २०३८ सालमा ९१ वर्षको उमेरमा सीतारामको निधन भएको थियो ।
अहिले सीतारामका छोरा गयाप्रसादले चलाइरहेका छन् । गया अहिले ६८ वर्षका भए । गया बुढो हुँदै गएपछि उनका छोरा आनन्दले उत्तराधिकारीको रूपमा दोकानलाई निरन्तरता दिँदैछन् ।
असर्फीलालका छोरा सीताराम, सितारामका छोरा गयाप्रसाद र गयाप्रसादका छोरा आनन्द हुन् । गयाका पाँच छोराहरू आनन्द, सन्तोष, प्रमेश, सन्दीप, पवन भए पनि अहिले दोकान आन्दनले हेर्छन् । चार पुस्ता कटाएको १२० वर्ष पुरानो जेरी पसलका पुरानै पारखी छन् ।
हजुरबाको पनि बाले खोलेको पुरानो पसलको साख आनन्दसम्मले जोगाइरहेका छन् । आफ्नो बाल्यकाल सम्झाउने परिकारका लागि पुराना ग्राहक चिया, स्वारी खान खोजी खोजी आउने गरेको गयाप्रसाद बताउँछन् । सीतारामले जेरीको लागि पिठो मुछ्ने १०० वर्षभन्दा पुरानो काँसको भाँडो अहिले पनि जेरी बनाउन प्रयोग गरिन्छ ।

त्यो खिइएर सानो भइसकेको छ । हलुवाई परिवारलाई स्थापित गरेको १०० वर्षभन्दा पुरानो घर पाँच वर्षअघि भत्किएपछि अहिले उनीहरूले पक्की घरमा जेरी, मिठाई र चिया बिक्री गर्दै आइरहेका छन् ।
असर्फीलाल बनाएको माटोको पुरानो चुलो घर हुँदासम्म छोराहरूले जोगाएर राखेका थिए । पुरानो घर भत्किएपछि त्यो चुलो पनि रहेन । अहिले दाउराको अभाव भएपछि ग्याँसको प्रयोग गर्न थालिएको छ । हलुवाई परिवारले नैं बुटवलमा जेरी बनाउने पहिलो परिवार मानिन्छ । पछिल्लो समय बजारमा विभिन्न रंग प्रयोग गरेका जेरी बिक्री गरिन्छन् । तर, हलुवाई परिवारले बेच्ने जेरी तीन दिनसम्म नबिग्रिने उनीहरू दाबी गर्छन् । त्यो बेला घिउमा पकाइने जेरी अहिले शुद्ध तेलमा पकाउने गरेको उनी बताउँछन् ।
पसलमा कुनै साइनबोर्ड राखिएको छैन । यद्यपि स्थानीय बुढापाका ‘जिलेबी बाजेको घर’ खोज्दै आउँछन् । गयाका छोरा आनन्द भन्छन्, ‘पुरानो बाजेको घर खोज्दै आउँछन् । पुरानो घर नदेखेपछि ग्राहकहरू भौतारिन्छन् ।’ तातो–तातो जेरी खान त्यो बेला खस्यौलीका अञ्चलाधीश हलुवाईको पसलमा पुगेर खूब जेरी खाने गरेको आनन्द स्मरण गर्छन् ।
बुटवलको जननी पुरानो बटौली (हाल पारि बुटवल)लाई मानिन्छ । सय वर्ष पुराना पुरातात्त्विक सम्पदामा दर्ज हुने इतिहासको सिद्धान्तलाई मान्ने हो भने बटौली केवल वस्तु विनिमय गरिने बजार मात्र नभई एक पुरातात्त्विक सम्पदा पनि हो । तर, अहिले चहलपहल भएको तिनाउ पूर्वको बजार खस्यौली हो ।

त्योबेला बटौलीमा नयाँ सडक मुख्य बजार थियो । बटौलीमा रहेका जलविनायक मन्दिर, बाघभैरव, सुक्लबाबा मन्दिर, नारायणथान मन्दिर, भीमसेन मन्दिर भर्खरै व्यापार गर्न बुटवल झरेका नेवार र तराई मुलका हलुवाईहरू समुदायको आस्था र विश्वासको केन्द्र हो ।
त्यसकारण किनमेल पहाडबाट झरेका ढाक्रेहरूले पनि मन्दिर दर्शन गर्ने र सीतारामको पसलमा जेरी र चिया खान्थे । कुनै समय व्यस्त बजार रहेको बटौली पश्चिम क्षेत्रको पहिलेको ‘ट्रान्जिट’ शहर मानिन्थ्यो ।
पश्चिम क्षेत्रमा २० जिल्लामा मान्छेहरू यहीँ किनमेल गर्न आउँथे भने यहीँ बाटो हुँदै लाहुर (रोजगारीको लागि भारत) पनि जान्थे । ‘वि.स.२०२५ सालसम्म बाबा (सीताराम)ले दोकान र बजारमा किनमेल गर्न आएका पहाडका व्यापारी र ढाक्रेलाई नाङ्लोजस्तो भाँडोमा टाउकोमा जेरी राखेर सालको पात्रमा बिक्री गरेको पनि मैले देखें,’ गया सम्झिन्छन्, ‘पहाडबाट आएकाहरू जेरी खुबै मीठो मानेर खान्थे । तिनाउ नदीमा गएर अन्जुलीले पानी खान्थे ।’
त्योबेला धार्नीमा जेरी बिक्री गरिन्थ्यो । विस्तारै किलोग्राम शुरू भयो । गयाले पनि एक धार्नी जेरी १ रुपैयाँमा बिक्री गरेको सम्झिन्छन् । गया जन्मिँदा उनको दोकान ४५ वर्ष पुरानो भइसकेको थियो । पितासँगै सोही पसलमा गयाले जेरीसँगै चिया पनि बिक्री गर्न थाले । एक सुकामा चिया बिक्री गरेको गयाको मानसपटलमा अझै पनि ताजा छ । अहिले पनि अन्य पसलभन्दा यहाँ चिया ५ रुपैयाँ सस्तो छ । बजारमा २५ रूपैयाँ गिलास चिया भए पनि उनीकहाँ अहिले २० रूपैयाँमै चिया पाइन्छ । शुरूमा जिलेबी, जुल्पी हुँदै अहिले जेरी भन्न थालिएको गयाको भनाइ छ ।
भारतको कलकत्ता, मुम्बई दिल्लीबाट आउने लाहुरे पनि पसलमा जेरी खाएर पहाड चढ्थे । अहिले त्यो रौनक शून्य भएको छ । अब आनन्दलाई उनको छोराहरू आफ्नो विरासतलाई निरन्तरता दिनेमा आशंका छ । अहिले बटौली सुनसान छ ।

बजार तत्कालीन खसौली (अहिलेको मुख्य बजार बुटवल)मा सरेको छ । त्यो बेला खस्यौली पुरै जंगल थियो । खोलाको बगर थियो । धान खेतको डिलैडिल मान्छेहरू हिँड्थे । पहिले नगरपालिका पनि पारि बुटवलमै थियो । अहिले सरकारी कुनै पनि कार्यालय पारि बुटवलमा छैनन् । बजार सुनसान हुँदा बादरले आतंक मञ्चाइरहेको छ ।
भक्तपुर झयाल भएका पाँच/सात वटा शतक पूरा गरेका केही घरहरू पनि संरक्षण नहुँदा अब भत्किने अवस्थामा पुगेका छन् । वि.स. २०२२ देखि पारि बुटवल सुक्दै र वारि बुटवल चम्किँदै गयो । पहिलो उनीहरूलाई खाना खानेसमेत फुर्सद हुँदैन थियो । अहिले व्यापार धेरै कम छ । ‘त्यो बेला सुन बेचेर लाहुर जानु, नुन बोकेर घर फर्किनु’ भन्ने भनाइ बुटवलमा खूब सुनिन्थ्यो । अहिले त्यस्तो थेगो पनि सुनिँदैन,’ गया भन्छन् ।
ऐतिहासिक पुरानो बजार अहिले निर्जीवजस्तै बनेको छ । पुरानो बुटवललाई संरक्षण र विकास गरेर पर्यटकीय केन्द्र बनाउन सकिन्थ्यो । तर, त्यसप्रति स्थानीय, प्रदेश र संघीय सरकारले कुनै चासो नदिएको आनन्दको गुनासो छ । त्यहीँ भएर अब आनन्दका छोराहरूले पुर्ख्यौली पेशालाई निरन्तरता दिन्छन् भन्नेमा विश्वस्त छैनन् । ‘अहिले खासै व्यापार छैन । यो पेशामा भविष्य नदेखेर विदेश जाने सपना देखेका छन्,’ उनी भन्छन् ।
‘पहिले कालो चिया कित्लीमा पकाएर राखिन्थ्यो । अर्को भाडामा दूध उमालेर राखिन्थ्यो । ग्राहकलाई पकाएर दिन नभ्याउने भएपछि कालो चियामा दूध हालेर दिएपछि ग्राहकले मीठो मानेन खान्थे । अहिले पसल त चलेको छ तर, बजार नैं सुनसान भएपछि कति व्यापार हुन्छ र ?,’ विगत सम्झिँदै गया भन्छन् । गयाले अब १०० वर्ष पुरानो ‘पुर्ख्यौली जेरी पसल’ भन्ने पसलको नाम राख्ने सोच बनाएका छन् । गयाका दाजुभाइले पनि अहिले बटौलीमा जेरी पुरी पसल चलाएका छन् ।
बटौलीमा पुरानो व्यवसाय अहिले शून्यजस्तै भएको छ । अहिले चलेका भनेको आन्दनसहित दुई चारवटा जेरी पसल हुन् । अहिले पनि दैनिक २० किलो जेरी गयाले बिक्री गर्छन् । चिया जेरी समोसा यहाँका परिकार हुन ।
ग्राहक पुग्ननासाथ जेरी पकाएर तातै खुवाउँछन् । स्थानीय सरकारले पुरानो बटौलीलाई संरक्षण गर्ने योजना अघि सार्नुपर्ने आनन्दको भनाइ छ ।
तस्वीरहरू : प्रकाश आचार्य/लोकान्तर