०२ असार २०८३, मंगलबार
'जिलेबीवाला बाजे'को पुर्ख्यौली पसल

बुटवलमा १२० वर्षदेखि निरन्तर जेरी पकाइरहेको हलुवाई परिवार

असार २९, २०८१
बुटवल
बुटवलमा १२० वर्षदेखि निरन्तर जेरी पकाइरहेको हलुवाई परिवार
जेरी पकाउँदै असर्फीलालका नाति गयाप्रसाद हलुवाई ।

वि.सं १९६०/०६१ सालतिर बटौली (बुटवल) हाल बुटवल उपमहानगरपालिका–१ नयाँ सडकमा असर्फीलाल हलुवाईले ‘जिलेबीवाला (जेरी) बाजे’को दोकान खोलेका थिए । भारतबाट व्यापार गर्न आएका हलुवाईले पहाडमा घ्यू बेचेर/साटेर किनमेल गर्न आउने ढाक्रेलाई लक्षितगरी असर्फीलालले सामान्य ‘जिलेबी (जेरी) दुकान’ सञ्चालनमा ल्याएका थिए । 

नुनतेल लिन पहाडबाट झर्नेलाई लक्षितगरी शुरू गरेको दोकान चैतपछि भने हैजा आउने डरले बन्द गरेर उनी भारत फर्किन्थे । असर्फीलालले वि.सं १९८९ सम्म बटौलीमा जेरी बेचे । भैंसीको शुद्ध घिउ र भारतबाट आउने ‘पेवर’ चिनीको चास्नीमा बन्ने जेरी त्यतिबेला एक/दुई पैसामा बिक्री हुनुहुन्थ्यो।

त्यसपछि ‘जेरी दुकान’ उनका छोरा सीताराम हलुवाईले सम्हाले । जग्गा किनेर आफ्नो बनाए । २०३८ सालमा ९१ वर्षको उमेरमा सीतारामको निधन भएको थियो ।

अहिले सीतारामका छोरा गयाप्रसादले चलाइरहेका छन् । गया अहिले ६८ वर्षका भए । गया बुढो हुँदै गएपछि उनका छोरा आनन्दले उत्तराधिकारीको रूपमा दोकानलाई निरन्तरता दिँदैछन् । 

असर्फीलालका छोरा सीताराम, सितारामका छोरा गयाप्रसाद र गयाप्रसादका छोरा आनन्द हुन् । गयाका पाँच छोराहरू आनन्द, सन्तोष, प्रमेश, सन्दीप, पवन भए पनि अहिले दोकान आन्दनले हेर्छन् । चार पुस्ता कटाएको १२० वर्ष पुरानो जेरी पसलका पुरानै पारखी छन् ।

हजुरबाको पनि बाले खोलेको पुरानो पसलको साख आनन्दसम्मले जोगाइरहेका छन् । आफ्नो बाल्यकाल सम्झाउने परिकारका लागि पुराना ग्राहक चिया, स्वारी खान खोजी खोजी आउने गरेको गयाप्रसाद बताउँछन् । सीतारामले जेरीको लागि पिठो मुछ्ने १०० वर्षभन्दा पुरानो काँसको भाँडो अहिले पनि जेरी बनाउन प्रयोग गरिन्छ । 

जेरीको लागि पिठो खुड्ने शताप्दी पुरानो भाँडो । 

त्यो खिइएर सानो भइसकेको छ । हलुवाई परिवारलाई स्थापित गरेको १०० वर्षभन्दा पुरानो घर पाँच वर्षअघि भत्किएपछि अहिले उनीहरूले पक्की घरमा जेरी, मिठाई र चिया बिक्री गर्दै आइरहेका छन् । 

असर्फीलाल बनाएको माटोको पुरानो चुलो घर हुँदासम्म छोराहरूले जोगाएर राखेका थिए । पुरानो घर भत्किएपछि त्यो चुलो पनि रहेन । अहिले दाउराको अभाव भएपछि ग्याँसको प्रयोग गर्न थालिएको छ । हलुवाई परिवारले नैं बुटवलमा जेरी बनाउने पहिलो परिवार मानिन्छ । पछिल्लो समय बजारमा विभिन्न रंग प्रयोग गरेका जेरी बिक्री गरिन्छन् । तर, हलुवाई परिवारले बेच्ने जेरी तीन दिनसम्म नबिग्रिने उनीहरू दाबी गर्छन् ।  त्यो बेला घिउमा पकाइने जेरी अहिले शुद्ध तेलमा पकाउने गरेको उनी बताउँछन् । 

पसलमा कुनै साइनबोर्ड राखिएको छैन । यद्यपि स्थानीय बुढापाका ‘जिलेबी बाजेको घर’ खोज्दै आउँछन् । गयाका छोरा आनन्द भन्छन्, ‘पुरानो बाजेको घर खोज्दै आउँछन् । पुरानो घर नदेखेपछि ग्राहकहरू भौतारिन्छन् ।’ तातो–तातो जेरी खान त्यो बेला खस्यौलीका अञ्चलाधीश हलुवाईको पसलमा पुगेर खूब जेरी खाने गरेको आनन्द स्मरण गर्छन् ।

बुटवलको जननी पुरानो बटौली (हाल पारि बुटवल)लाई मानिन्छ । सय वर्ष पुराना पुरातात्त्विक सम्पदामा दर्ज हुने इतिहासको सिद्धान्तलाई मान्ने हो भने बटौली केवल वस्तु विनिमय गरिने बजार मात्र नभई एक पुरातात्त्विक सम्पदा पनि हो । तर, अहिले चहलपहल भएको तिनाउ पूर्वको बजार खस्यौली हो । 

आफ्ना बुवा सीताराम र आमा इन्द्रासानको तश्विर देखाउँदै गयाप्रसाद।

त्योबेला बटौलीमा नयाँ सडक मुख्य बजार थियो । बटौलीमा रहेका जलविनायक मन्दिर, बाघभैरव, सुक्लबाबा मन्दिर, नारायणथान मन्दिर, भीमसेन मन्दिर भर्खरै व्यापार गर्न बुटवल झरेका नेवार र तराई मुलका हलुवाईहरू समुदायको आस्था र विश्वासको केन्द्र हो । 

त्यसकारण किनमेल पहाडबाट झरेका ढाक्रेहरूले पनि मन्दिर दर्शन गर्ने र सीतारामको पसलमा जेरी र चिया खान्थे । कुनै समय व्यस्त बजार रहेको बटौली पश्चिम क्षेत्रको पहिलेको ‘ट्रान्जिट’  शहर मानिन्थ्यो । 

पश्चिम क्षेत्रमा २० जिल्लामा मान्छेहरू यहीँ किनमेल गर्न आउँथे भने यहीँ बाटो हुँदै लाहुर (रोजगारीको लागि भारत) पनि जान्थे । ‘वि.स.२०२५ सालसम्म बाबा (सीताराम)ले दोकान र बजारमा किनमेल गर्न आएका पहाडका व्यापारी र ढाक्रेलाई नाङ्लोजस्तो भाँडोमा टाउकोमा जेरी राखेर सालको पात्रमा बिक्री गरेको पनि मैले देखें,’ गया सम्झिन्छन्, ‘पहाडबाट आएकाहरू जेरी खुबै मीठो मानेर खान्थे । तिनाउ नदीमा गएर अन्जुलीले पानी खान्थे ।’ 

त्योबेला धार्नीमा जेरी बिक्री गरिन्थ्यो । विस्तारै किलोग्राम शुरू भयो । गयाले पनि एक धार्नी जेरी १ रुपैयाँमा बिक्री गरेको सम्झिन्छन् । गया जन्मिँदा उनको दोकान ४५ वर्ष पुरानो भइसकेको थियो । पितासँगै सोही पसलमा गयाले जेरीसँगै चिया पनि बिक्री गर्न थाले । एक सुकामा चिया बिक्री गरेको गयाको मानसपटलमा अझै पनि ताजा छ । अहिले पनि अन्य पसलभन्दा यहाँ चिया ५ रुपैयाँ सस्तो छ । बजारमा २५ रूपैयाँ गिलास चिया भए पनि उनीकहाँ अहिले २० रूपैयाँमै चिया पाइन्छ । शुरूमा जिलेबी, जुल्पी हुँदै अहिले जेरी भन्न थालिएको गयाको भनाइ छ । 

भारतको कलकत्ता, मुम्बई दिल्लीबाट आउने लाहुरे पनि पसलमा जेरी खाएर पहाड चढ्थे । अहिले त्यो रौनक शून्य भएको छ । अब आनन्दलाई उनको छोराहरू आफ्नो विरासतलाई निरन्तरता दिनेमा आशंका छ । अहिले बटौली सुनसान छ । 

बटौलीमा रहेका सय वर्ष पुराना जीण घरहरू । 

बजार तत्कालीन खसौली (अहिलेको मुख्य बजार बुटवल)मा सरेको छ । त्यो बेला खस्यौली पुरै जंगल थियो । खोलाको बगर थियो । धान खेतको डिलैडिल मान्छेहरू हिँड्थे । पहिले नगरपालिका पनि पारि बुटवलमै थियो । अहिले सरकारी कुनै पनि कार्यालय पारि बुटवलमा छैनन् । बजार सुनसान हुँदा बादरले आतंक मञ्चाइरहेको छ । 

भक्तपुर झयाल भएका पाँच/सात वटा शतक पूरा गरेका केही घरहरू पनि संरक्षण नहुँदा अब भत्किने अवस्थामा पुगेका छन् । वि.स. २०२२  देखि पारि बुटवल सुक्दै र वारि बुटवल चम्किँदै गयो । पहिलो उनीहरूलाई खाना खानेसमेत फुर्सद हुँदैन थियो । अहिले व्यापार धेरै कम छ । ‘त्यो बेला सुन बेचेर लाहुर जानु, नुन बोकेर घर फर्किनु’ भन्ने भनाइ बुटवलमा खूब सुनिन्थ्यो । अहिले त्यस्तो थेगो पनि सुनिँदैन,’ गया भन्छन् । 

ऐतिहासिक पुरानो बजार अहिले निर्जीवजस्तै बनेको छ । पुरानो बुटवललाई संरक्षण र विकास गरेर पर्यटकीय केन्द्र बनाउन सकिन्थ्यो । तर, त्यसप्रति स्थानीय, प्रदेश र संघीय सरकारले कुनै चासो नदिएको आनन्दको गुनासो छ । त्यहीँ भएर अब आनन्दका छोराहरूले पुर्ख्यौली पेशालाई निरन्तरता दिन्छन् भन्नेमा विश्वस्त छैनन् । ‘अहिले खासै व्यापार छैन । यो पेशामा भविष्य नदेखेर विदेश जाने सपना देखेका छन्,’ उनी भन्छन् । 

‘पहिले कालो चिया कित्लीमा पकाएर राखिन्थ्यो । अर्को भाडामा दूध उमालेर राखिन्थ्यो । ग्राहकलाई पकाएर दिन नभ्याउने भएपछि कालो चियामा दूध हालेर दिएपछि ग्राहकले मीठो मानेन खान्थे । अहिले पसल त चलेको छ तर, बजार नैं सुनसान भएपछि कति व्यापार हुन्छ र ?,’ विगत सम्झिँदै गया भन्छन् । गयाले अब १०० वर्ष पुरानो ‘पुर्ख्यौली जेरी पसल’ भन्ने पसलको नाम राख्ने सोच बनाएका छन् । गयाका दाजुभाइले पनि अहिले बटौलीमा जेरी पुरी पसल चलाएका छन् । 

बटौलीमा पुरानो व्यवसाय अहिले शून्यजस्तै भएको छ । अहिले चलेका भनेको आन्दनसहित दुई चारवटा जेरी पसल हुन् । अहिले पनि दैनिक २० किलो जेरी गयाले बिक्री गर्छन् । चिया जेरी समोसा यहाँका परिकार हुन । 

ग्राहक पुग्ननासाथ जेरी पकाएर तातै खुवाउँछन् । स्थानीय सरकारले पुरानो बटौलीलाई संरक्षण गर्ने योजना अघि सार्नुपर्ने आनन्दको भनाइ छ ।

तस्वीरहरू : प्रकाश आचार्य/लोकान्तर

 

salt training

कमेन्ट गर्नुहोस्