३० असार २०८३, मंगलबार

नारायणीमा भेटिएको शव बेपत्ता गणपति डिलक्सका यात्रुको भएको पुष्टि

असार २९, २०८१
चितवन
नारायणीमा भेटिएको शव बेपत्ता गणपति डिलक्सका यात्रुको भएको पुष्टि
फाइल तस्वीर

चितवनको भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । 

उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । 

'नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ,' प्रहरी नायब उपरीक्षक रिजालले भने । 

उनका अनुसार अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

साह नेपालमा बसेर काम गर्दै आएका ऋषिका दाई सत्यपाल साहले बताए । सत्यपालले आज बिहान फेला परेको शव भाई ऋषिपलको रहेको पुष्टि गरे । 

भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौंको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढेका थिए । 

काठमाडौंबाट रौतहटको गौरतर्फ आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो । 

बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । 

भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । 

एन्जल वीरगञ्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ५५ यात्रु रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए । 

बेपत्ता बस तथा यात्रीको आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्