
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र मानवअधिकारलाई बलियो बनाउन नसकिने बताएका छन् ।
ललितपुरको खोकनामा आज आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को २५औं स्थापना दिवस समारोहमा उनले यस्तो बताएका हुन् ।
राजनीतिक दल कमजोर भएमा लोकतन्त्र, मानवअधिकार र जनअधिकार सुनिश्चित हुन नसक्ने उनको भनाइ थियो ।
'राज्यलाई बलियो बनाउने शक्ति राजनीतिक दल नै हुन्, बलियो राजनीतिक दल नै स्थिरता र स्थायित्वका आधार हुन् । त्यसैले दलहरूलाई कमजोर बनाएर मानवअधिकारको रक्षा र आर्थिक समृद्धि हासिल हुन सक्दैन,' महासचिव पोखरेलले भने ।
उनले जनतालाई संरक्षण प्रदान गर्न पनि राज्य र राजनीतिक दल बलियो हुनुपर्ने जिकिर गरे ।
एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले समाजमा व्यवस्था परिवर्तन भएसँगै मानवअधिकारका व्यवस्था पनि परिवर्तन हुँदै आएको बताए ।
मानवअधिकार एलाइन्सका इन्चार्ज घनश्याम पाण्डेले नागरिकका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हकलाई स्थापित गर्न एलाइन्सले ध्यान दिनुपर्ने बताएका थिए ।