३० जेठ २०८३, शनिबार

त्रिशूलीमा दुई बस बेपत्ता : ६ वटा शव भेटियो

असार ३०, २०८१
काठमाडौं
त्रिशूलीमा दुई बस बेपत्ता : ६ वटा शव भेटियो

​चितवनको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये छैठौं व्यक्तिको शव भरतपुर महानगरपालिका–२६ स्थित सिसावारमा फेला परेको छ ।

पुरुष व्यक्तिको शवको पहिचान भने हुन सकेको छैन ।

सशस्त्र प्रहरीको १७ नम्बर गणका खटिएको असइको नेतृत्वको टोलीले शव फेला पारेको हो ।

यसअघि पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर–२८ गोला घाटमा दुई वटा शव भेटिएका थिए ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार गैँडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया इन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको हो ।

उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् ।

अन्सारी वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसका यात्रु रहेको प्रहरीले जनाएको छ ।​​

गोलाघाटमा आइतबार बिहान भेटिएको अर्को शवको पनि सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक व्यक्ति ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर हुन् ।

भारत विहार पश्चिम चम्पारणका ठाकुरको शव उनका दाजु ओमप्रकाशले सनाखत गरेका थिए । ठाकुर भने काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्री थिए । गत शुक्रबार बिहान  सिमलतालमा आएको पहिरोले दुई वटा बस बगाएको थियो ।

काठमाडौंबाट गौर जाँदै गरेको बसमा ३८ र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा २७ यात्रु रहेको अनुमान छ । तीमध्ये काठमाडौंबाट रौतहट जाँदै गरेको बसका ३ यात्रुले पौडिएर ज्यान बचाएका थिए ।

सशस्त्र प्रहरीसहितको सुरक्षाफौजले हालसम्म ६ जनाको शव फेला पारिसकेको छ ।

हिजो शनिबार गोलाघाटमा भेटिएको भारतीय नागरिक ऋषि पल साह र पूर्वी नवलपरासीको गैँडाकोटमा चितवनको माडी नगरपालिका–१ का विकास परियार र सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको भएको पुष्टि प्रहरीले गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्