
धादिङ २ बाट निर्वाचित कांग्रेसका रामनाथ अधिकारी पहिलोपटक मन्त्री बनेका हुन् । तर अधिकारीले सोमबार सहजै मन्त्रालयमा कार्यभार सम्हाल्न पाएनन् ।
पहिलोपटक मन्त्री बनेका अधिकारीलाई कार्यभार सम्हाल्नै कठिनाइ भएको हो ।
सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यभार सम्हाल्न जाँदा उनले कर्मचारीको विरोधको सामना गर्नुपर्यो ।
सेवा सुविधाको माग गर्दै १६ दिनदेखि आन्दोलनमा रहेका कर्मचारीका कारण नवनियुक्त मन्त्रीलाई कार्यभार सम्हाल्न कठिनाइ भएको हो ।
मन्त्रालयको प्रांगणमै कर्मचारीहरू आफ्ना माग अगाडि सार्दै आन्दोलनमा छन् । यसैले मन्त्रालय पुगेका अधिकारीले आन्दोलनकारी कर्मचारीसँग कुरा गर्दै केही दिनमा समस्या समाधानको पहल गर्ने बताए ।
आन्दोलनरत कर्मचारीको कुरा सुनेपछि उनी मन्त्रीको कार्यकक्षमा नगइ क्यान्टिनमा गएका हुन् । जहाँ पार्टी निकटका नेताहरूसँग उनले छलफल गरेका थिए ।
अब मन्त्रिपरिषद्को पहिलो बैठकपछि मात्रै अधिकारीले पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।
फुल दरबन्दीका ३२८ कर्मचारीलाई स्थायी गर्नुपर्नेसहितका माग कर्मचारीले अगाडि सारेका छन् ।
कर्मचारीको आन्दोलनपछि अधिकारीले पनि मन्त्रालय प्रवेश गरी जबर्जस्त पदभार ग्रहण गर्न उचित नठानेको उनी निकट स्रोतले जानकारी दियो ।
‘उहाँले आन्दोलनरत कर्मचारीहरूसँग कुराकानी गरिसक्नुभएको छ । यसैले पदभार ग्रहणमा केही ढिलाइ भएको हो,’ स्रोतले भन्यो, ‘अब ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकपछि कार्यभार सम्हाल्नुहुन्छ ।’
कर्मचारी आन्दोलनमा छन् भन्ने थाहा पाएरै उनीहरूसँग अधिकारीले कुराकानी गरेका उनी निकट स्रोतले जानकारी दियो ।