
गृहमन्त्री रमेश लेखकले सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।
सोमबार पदभार ग्रहण गरेलगत्तै उनले पहिलो निर्णय चितवनको भरतपुर महानगरपालिकास्थित सिमलताल बस दुर्घटनाको अध्ययन गर्न कार्यदल गठन गरेका हुन् ।
सहसचिव छवि रिजालको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाउने निर्णयमा उनले हस्ताक्षर गरेका हुन् । कार्यदलमा सुरक्षा निकाय, भौतिक पूर्वाधार मन्त्रालयका अधिकारी रहनेछन् ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान गएको पहिरोले दुई वटा बसलाई त्रिशूली नदीमा खसालेको थियो ।
दुर्घटनामा बेपत्ता भएका ६५ जनामध्ये सोमबारसम्म १२ जनाको शव फेला परेको छ ।
कार्यदललाई १० दिनको समय दिइएको छ ।