०५ साउन २०८३, मंगलबार

हत्या गर्ने उद्देश्यले ममाथि आक्रमण भएको थियो– ट्रम्प

असार ३१, २०८१
काठमाडौं
हत्या गर्ने उद्देश्यले ममाथि आक्रमण भएको थियो– ट्रम्प

वासिङ्टन- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीमा शनिबारको आक्रमणमा ‘आफू मारिने सम्भावना’बाट उम्किएको बताएका छन् । 

रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्युयोर्क पोस्ट’लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गरे ।

‘उनीहरू थिएनन् भने सायद म यहाँ हुने थिइन, मरेको हुन्थेँ होला,’ भावुक हुँदै उनले भने ।  

ट्रम्पले आफ्नो दाहिने कानमा सेतो पट्टी बाँधेर सुनाएको यो ‘अति वास्तविक अनुभव’ भएको पत्रिकाले उल्लेख गरेको छ ।

शनिबार एक चुनावी र्‍यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोली ७८ वर्षीय ट्रम्पको कानमा लागेर गएको थियो । आक्रमणबाट उनको अनुहार रगताम्य भएको, एकजना पैदलयात्रीको मृत्यु भएको भने अन्य दुई घाइते भएका थिए ।

ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढेका थिए । त्यो बेला टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने उनले बताए । 

‘घटनापछि धेरैले भनिरहेका छन् कि– भाग्यले वा भगवानको कृपाले म अझै पनि जीवित छु,’ उनले थपे । 

गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकोमा ट्रम्पले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गरे । 

‘उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी मलाई भीडबाट बाहिर निकालेका थिए,’ उनले भने, ‘उनीहरूले उत्कृष्ट काम गरे । यो हामी सबैका लागि अवास्तविक छ ।’

सिक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई घेरा हालेर भीडबाट निकाल्दै गर्दा मुठ्ठी उठाएको तस्वीर संसारभरका पत्रिकाको फ्रन्ट पेजमा छापिएको थियो । उक्त तस्वीर सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो । 

‘धेरै मानिसले यो आफूले देखेको सबैभन्दा प्रतिष्ठित तस्वीर भएको बताउँछन्,’ उनले न्युयोर्क पोस्टसँग भने, ‘उनीहरूले सही भनेका हुन् । आक्रमणबाट म बाँच्न सफल भएको छु । सामान्यतया पत्रपत्रिकामा यस्तो चर्चा एक जीवित व्यक्तिका लागि बिरलै हुने गर्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्