२७ असार २०८३, शनिबार

पहिलो फिल्म ‘ऐश्वर्य’ की नायिका दीपिकालाई दर्शकको डर !

कात्तिक २०, २०७४
पहिलो फिल्म ‘ऐश्वर्य’ की नायिका दीपिकालाई दर्शकको डर !
मंसिरको चिसोमा दीपिका प्रसाईंलाई स्विमिङ पूलमा बिकिनी लगाएर दिनभरी नै एउटा दृश्य दिनुपर्ने भयो । बिकिनी नै लगाउनुपर्ने भएपछि शुरुमा त उनलाई केही असहज पनि लागेको थियो । तर कथाकै माग भनेपछि उनी चरित्रका लागि तयार भइन् । मसिंरको चिसोमा स्विमिङ पूलको चिसोको दृश्य खिचिसक्दा भने उनको शरीरको छाला जाम भइसकेको थियो ।

शूटिङ सकिएर अहिले फिल्म प्रदर्शनको तयारीमा छ । उनलाई त्यो चिसोको एलर्जीले अहिले पनि बेलाबेला झस्काउँछ ।

चलचित्र ‘ऐश्वर्य’ की ऐश्वर्य यतिबेला आफ्नो पहिलो सिनेमाबाट मिडियामा छाइरहेकी छिन् । चलचित्र युनिटले पोस्टर र ट्रेलरमा समेत उनलाई बढी महत्त्व दिएपछि दीपिकाले पहिलो फिल्मबाटै आफ्नो चिनारी दिने मौका पाइन् । मोडलिङ क्षेत्रमा त उनलाई चिन्ने धेरै नै थिए तर नेपाली चलचित्रका दर्शकका लागि भने उनको उपस्थिति बिल्कुलै नयाँ हो ।

चलचित्र ‘ऐश्वर्य’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी दीपिका आफू यो चलचित्रबाट निकै नै आशावादी भएको बताउँछिन् । ‘धेरै चलचित्र चित्त नबुझेर अस्वीकार गरेका बेला मलाई यो फिल्मको चरित्र नै मन परेको थियो ।’ दीपिका सुनाउँछिन्, ‘फिल्ममा म मध्यमवर्गीय परिवारकी एक सुपर मोडलको भूमिकामा छु ।’

फिल्ममा पनि मोडलकै रुपमा देखिएकी दीपिकाले मोडलिङमा भन्दा फिल्ममा अभिनय गर्न गाह्रो हुने बताउँछिन् । ‘अभिनय गर्न सामान्य होला तर उत्कृष्ट अभिनय गर्न गाह्रो छ, सफल हुन उत्कृष्ट अभिनय गर्नैपर्छ,’ उनी थप्छिन्, ‘त्यसो त मोडलिङ र अभिनय दुवैको आ–आफ्नै महत्त्व छ ।’

चलचित्रको ट्रेलर, पोस्टर तथा टिजरमा दीपिकालाई बढी महत्त्व दिएपछि उनी मख्ख छिन् । पोस्टरमा आफूलाई फोकस गरिएकोमा उनी आफ्ना लागि चुनौती र मौका दुवै भएको बताउँछिन् । ‘फिल्म मेरो वरिपरि घुमेको भएर नै त्यसरी प्रचार गरिएको होला, यो खुशीको कुरा हो ।’ उनी बताउँछिन्, ‘यही चलचित्र क्षेत्रलाई नै अगाडि बढाउने सोच छ ।’

मोडल हुँदै फिल्ममा आउनुमा उनको भन्दा धेरै भूमिका अरुको भएको दीपिका बताउँछिन् । ‘आफन्त तथा साथीहरुले तिमी नायिकाजस्ती छौ, किन त्यता लाग्दिनौ भनिरहनुहुन्थ्यो, शायद त्यसैले मलाई यो क्षेत्रमा आउन कर लाग्यो’, उनी हाँस्दै थप्छिन्, ‘ऐश्वर्यमा आफै अफर आएको हो है !’

फिल्मको शूटिङमा पनि उत्तिकै गाह्रो भएको दीपिका सुनाउँछिन् । मुस्ताङमा शूटिङ गर्दाको क्षण सम्झँदै त्यतिबेला आफूले चाहेजस्तो काम गर्न नसेकेको बताउँछिन् उनी । ‘जाडोले सोचेअनुसार अभिनय गर्न पनि नसकिने स्थिति आयो, चिसोले पूरै जमिसकेको थियो, अहिले सम्झदा रमाइलो लाग्छ,’ उनी थप्छिन्, ‘मेरो जिउ चिसो सहन नसक्ने खालको छ, तर काम गर्दै जाँदा रमाइलो पनि उत्तिकै थियो ।’

फिल्म ‘ऐश्वर्य’ मा उनले बिकिनीको दृश्य दिँदा भने केही असहज लागे पनि पछि आफू कथाको माग भएकाले सामान्य लिएको बताउँछिन् दीपिका । ‘शुरुमा त दर्शकले कसरी हेर्नुहुने हो भनेर डर लागेको थियो, अहिले आफैले मूल्यांकन गर्दा पनि ठीकै गरें भन्ने लाग्छ ।’ उनी थप्छिन् , ‘पात्रको भूमिका निभाएकी हुँ, सुहाएको पनि छ ।’

समाज अर्थात दर्शकको उनलाई उत्तिकै डर लाग्ने गर्छ । हामीले केही योजना बनाउँदा पनि दर्शकले कसरी लिनुहुन्छ भन्ने फरक पर्छ भन्छिन् दीपिका । अभिनयमार्फत आफूले निभाएको भूमिकालाई न्याय गर्नका लागि आफूले कुनै कसर बाँकी नराखेको पनि दीपिका बताउँछिन् । ‘म चाहन्छु कि, मेरो पात्रले दर्शकको मन छुन सकोस्, अभिनयको माध्यमबाट नै हो हामी चिनिने ।’ उनी भन्छिन्, ‘आफूले राम्रो काम गरेकाले पनि होला, फिल्म फ्लपबारे मैले सोचेकै छैन ।’

डेब्यु चलचित्रबाटै पाएको चर्चाले उनलाई पुलकित त बनाएको छ नै । साथसाथै प्रतिक्रिया कस्तो आउला भन्ने डर पनि उत्तिकै छ दीपिकालाई । तर, उनलाई आफू अभिनयकै क्षेत्रमा जम्नुपर्छ भन्ने लागेको छ । ‘दर्शकले आशा गर्नुभएको छ, डेब्यु फिल्ममा मैले सक्दो न्याय गर्न खोजे पनि कतै कतै अझै गहिराइमा पुग्न सकिन कि भन्ने लागेको छ,’ दीपिका आशावादी बन्दै भन्छिन्, ‘फिल्म चल्नुपर्छ, यति राम्रो फिल्म पनि चल्दैन भन्ने मलाई लाग्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्