
नेपाल टेलिकमले साउन १ गतेदेखि लागू हुनेगरी मनसुन अफर २०८१ सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरू रहेका कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको रु. १९९ देखिका कम्बो प्याकेजहरू उपलब्ध छ ।
यस अन्तर्गत रु. १९९ मा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटासहितको कम्बो १९९ प्याक लिन सकिनेछ ।
यस्तै, रु. २९९ मा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएससहितको कम्बो २९९ प्याक र रु. ४९९ मा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएससहितको कम्बो ४९९ प्याक उपलब्ध रहेको छ ।
प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याक अन्तर्गत रु. ६९९ मा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल–नेट एसएमएससहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।
साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुविधा थप गरी उक्त प्याकहरूलाई अझै आकर्षक बनाइने भएको छ ।
जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ ।
डाटा प्याक अन्तर्गत १ दिन देखि २८ दिनसम्म समयावधि रहेका रु. २९ देखि रु. ९९९ सम्मका १ जीबीदेखि १०० जीबीसम्म रिसोर्ससहितका विभिन्न आकर्षक डाटा प्याकहरू उपलब्ध हुनेछन् ।
पोस्टपेडमा भने रु. ३७३ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रूपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुनेछ ।
कम्पनीले अन–नेट अर्थात कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरू, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरूका साथै रु. ४९ मा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र रु. ५९ मा अनलिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डाटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा रु. १९९ मा भ्वाइस तथा डाटा सुविधासहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।