
सुनसरीको भेडेटारमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा सम्पन्न बैठकमा सुनसरी, धनकुटा, भोजपुर र उदयपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहितको सहभागिता रहेको थियो ।
सुनसरीका प्रजिअ रामचन्द्र तिवारीले बैठकमा सप्तकोशी नदीको जलमार्ग र अन्य क्षेत्रमा समेत लागुपदार्थ ओसारपसार बढेको भन्दै नियन्त्रणका विषयमा गम्भीर छलफल भएको जानकारी दिए।
'सबै जिल्लामा शान्ति सुरक्षा व्यवस्थापन, अवैध हातहतियार तथा लागुऔषध प्रयोग तथा ओसारपसार, अवैध मदिरा नियन्त्रण, विपद् व्यवस्थापन र आपराधिक घटना बढ्न नदिन पूर्वतयारी गर्नुपर्नेमा जोड दिइएको छ,' प्रजिअ तिवारीले भने ।
सनुसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले सुनसरीमा लागुऔषधको कारोबार बढेको र त्यसको ट्रान्जिट प्वाइन्छ कोशी नदी आसपास रहेको देखिएकाले कोशी नदी जलमार्ग निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको जानकारी दिए ।
बैठकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले कोशी प्रदेशमा शान्ति सुरक्षासहित लागुपदार्थ ओसारपसार तथा कारोबार पूर्णरूपमा नियन्त्रण गर्न नेपाल प्रहरी सधैं तयार रहने बताए ।
बैठकले लागुऔषधसहित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सूचना आदानप्रदान तथा समन्वय गर्न सबैले सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख खापुङ, सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनीका प्रमुख डीआईजी शम्भु सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य र चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको सहभागिता रहेको थियो ।
समन्वय बैठकले अन्तरजिल्ला सुरक्षालाई प्रभावकारी बनाइ समन्वयात्मक ढङ्गले अगाडि बढ्ने र गैरकानूनी क्रियाकलापलाई चारवटै जिल्लाको समन्वयमा प्रभावकारी रूपमा नियन्त्रण गर्ने निर्णय गरेको छ ।