
जर्मनीमा सोमवार राति सकिएको युरोकप फूटबल प्रतियोगितामा ६ खेलाडी सर्वाधिक गोलकर्ता बनेका छन् । ६ खेलाडीले समान ३–३ गोल गरेका हुन् ।
तर सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट भने एकजना खेलाडीलाई मात्र मिलेको छ । विजेता स्पेनका एट्याकिङ मिडफिल्डर तथा विङ्गर ड्यानी ओल्मोले यो उपाधि हात पारेका हुन् ।
२६ वर्षका ओल्मोले भर्खरै सकिएको युरोकपमा ६ खेलबाट ३ गोल मात्र गरेनन् २ गोलमा एसिस्ट पनि प्रदान गरे । यही २ एसिस्टले उनलाई गोल्डेन बुट दिलाएको हो ।
अन्य ५ जना खेलाडीको समान ३–३ गोल भए पनि ओल्मोले जति एसिस्ट गर्न सकेनन् । यसैकारण उनीहरू गोल्डेन बुट जित्नबाट बञ्चित भए ।
३ गोल गर्ने अन्य ५ खेलाडीमा उपविजेता इंग्ल्यान्डका कप्तान ह्यारी केन, जर्जियाका जेओर्गेस मिकाउटाट्जे, आयोजक जर्मनीमा जमाल मुसियला, नेदरल्यान्ड्सका कोडी गाक्पो र स्लोभाकियाका इभान स्चेराज छन् ।
ओल्मो २ खेलमा प्रतिस्थापन खेलाडीको रुपमा मैदानमा आएर गोल गर्न सफल भएका थिए ।
त्यस्तै विजेता स्पेनका मिडफिल्डर रोड्री ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भए भने विजेता टोलीकै युवा स्टार लामिन यमालले युरोकपको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।
युरोकप उपाधि इंग्ल्यान्डलाई हराएर स्पेनले जितेको हो । स्पेन यसपटकसहित ४ पटक युरोपको विजेता बनेको हो ।