
सिंहदरबारमा नवनियुक्त मन्त्रीहरूलाई बधाई दिन जाने पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ ।
नयाँ मन्त्रीहरूले काम शुरु गरेको पहिलो दिन सिंहदरबारमा कार्यकर्ता र शुभेच्छुकको भीड लागेको हो ।
सिंहदरबारका प्राय मन्त्रालयमा मन्त्रीको कार्यकक्ष बाहिर आगन्तुकको भीड लागेको छ ।
पहिलो दिन भएकोले भेट्न आउने राजनीतिक दलका कार्यकर्ता, मन्त्रीका आफन्त र शुभेच्छुकलाई रोकिएको छैन ।
सामान्यतया मन्त्रीले कार्यकर्ता र सेवाग्राहीसँग दिउँसो २ बजेपछि मात्र भेट्ने गरेका छन् । कांग्रेस र एमालेले सम्हालेका मन्त्रालयमा कार्यकर्ताको बढी भीड देखिएको छ ।

कार्यकर्ता र शुभेच्छुकको भीडले मंगलबार दिउँसो सिंहदरबारमा जाम देखिएको थियो भने मन्त्रालयका पार्किङ फुल भएका थिए ।
सोमबार अपरान्ह पदभार ग्रहण गरेका मन्त्रीहरूले मंगलबार कर्मचारीबाट ब्रिफिङ लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शपथ लिएकै दिन सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकमा ओलीले एक महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।
