०१ असार २०८३, सोमबार

माघ अन्तिमसम्म मुलुकले नयाँ सरकार र ७ मुख्यमन्त्री पाउने !

कात्तिक २०, २०७४
माघ अन्तिमसम्म मुलुकले नयाँ सरकार र ७ मुख्यमन्त्री पाउने !

काठमाडौं ८ कात्तिक– तोकिएको समयमा चुनाव सम्पन्न भएमा आगामी माघ अन्तिम सातादेखी फागुन पहिलो साता सम्ममा मुलुकले नयाँ सरकार पाउने भएको छ ।
मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि निर्वाचन प्रक्रिया शुरु भइसकेको छ ।

पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन सम्पन्न भइसकेको छ भने दोस्रो चरणमा मंसिर २१ गते हुने चुनावका लागि आगामी साता उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ ।

दुवै चरणको निर्वाचन सकिएपछि मंसिर २१ गते साँझ ५ बजेबाट मतगणना शुरु हुनेछ । निर्वाचन आयोगले यसपटक समानुपातिक तर्फको मतगणना पनि एक साता भित्रै सम्पन्न गर्ने जनाएको छ ।

‘एकहप्ता भित्र सम्पूर्ण मतगणना सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘ढिलो भयो भने पनि प्रत्यक्ष तर्फको नजिता आएको एकहप्तामा समानुपातिको नजिता सार्वजनिक भइसक्छ ।’

यसअघि पहिलो र दोस्रो संविधानसभा निर्वाचनको मतगणना अत्यन्त सुस्त गतिमा भइको थियो । मंसिर मसान्तसम्म निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भइसक्ने आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको मतगणनामा पनि ढिलाइ भएको थियो । ‘विगतमा भएको ढिलासुस्तीबाट पाढ सिकेर हामीले एक हप्तामै नतिजा आउनेगरी व्यबस्थापन गर्छाैं,’ प्रवक्ता ढकालले भने ।

माघ पहिलो साता संसद अधिवेशन !

मंसिर मसान्त सम्ममा निर्वाचनको नतिजा आएमा पौष अन्तिम देखि माघ पहिलो साता सम्ममा संसदको अधिवेशन आह्वान गर्न मिल्ने संसद सचिवाल स्रोत बताउँछ ।

संविधानको धारा ९३ मा प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यबस्था छ । मंसिर मसान्त या पौष पहिलो सातासम्म अन्तिम नतिजा आएमा एकमहिना पछि अर्थात् पौष अन्तिम या माघ पहिलो साता संसदको अधिवेशन शुरु हुने सचिवालयको भनाइ छ ।

संसद अधिवेशनको पहिलो काम सभामुखको निर्वाचन गर्नु हुनेछ । संविधानको धारा ९१ मा प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्ने व्यबस्था छ । सभामुखको निर्वाचन पछि राष्ट्रपति, उपराष्ट्रपति र प्रधामनन्त्रीको निर्वाचन गर्नु संसदको काम हुनेछ ।

ज्येष्ठ सदस्यले संसदको पहिलो बैठकको अध्यक्षता गर्ने र पहिलो बैठकबाट संसद सञ्चालन नियमावली समिति गठन गर्ने तथा सभामुख निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने संसदको प्रचलन छ । माघ पहिलो साताभित्र संसदको अधिवेशन शुरु भएमा १५ माघ अगावै सभामुखको चुनाव सम्पन्न हुनेछ ।

सभामुखको निर्वाचन सम्पन्न गरेपछि संसदको प्राथमिकता प्रधानमन्त्रीको चयन हुनेछ । संविधानको व्यबस्था अनुसार सहमतीय सरकार गठनको समय र संसदमा बहुमतीय प्रधानमन्त्री चयन प्रक्रिया पूरा गर्दा माघ अन्तिम सातादेखि फागुन पहिलो साता सम्ममा सरकार गठन हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रतिनिधि सभामा कुनै दलले बहुमत ल्याउन नसकेमा या दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा सरकार बन्न नसकेमा प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रधानमन्त्री निर्वाचित हुन नसक्ने अबस्थामा राष्ट्रपतिले प्रतिनिधि सभामा सबभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यबस्था छ । संविधानको धारा ७६ को उपधारा ४ मा त्यसरी निर्वाचित भएको प्रधामनन्त्रीले तीन दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यबस्था छ ।

प्रदेशसभा कहाँ बस्ने टुंगो छैन !

संविधानको धारा १८३ मा प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्ने व्यबस्था छ । तर सरकारले अहिलेसम्म प्रदेशको राजधानी तोकिसकेको छैन ।

प्रतिनिधि सभामा जस्तै प्रदेश सभामा पनि पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख निर्वाचित गर्ने व्यबस्था छ । त्यसपछि प्रदेश सभाले मुख्यमन्त्रीको निर्वाचन गर्नेछ ।

प्रदेश सभाको अभ्यास नेपालमा पहिलो पटक हुन लागेको हो । तर चुनावका लागि एक महिना र केही दिनमात्र बाँकी रहदा समेत प्रदेश सभाको बैठक कुन ठाउँमा बस्ने भन्ने टुंगो लाग्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्