०३ साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

सिंहदरबारमा बधाई दिनेको भिडदेखि नयाँ अर्थमन्त्री आएसँगै सेयर बजारमा उत्साहसम्म

साउन २, २०८१
काठमाडौं
सिंहदरबारमा बधाई दिनेको भिडदेखि नयाँ अर्थमन्त्री आएसँगै सेयर बजारमा उत्साहसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी १ सय २० जनाको मृत्यु भएको छ ।
 बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २० जनाको मृत्यु भएको हो ।
००००
६ दिनअघि पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रु खोज्ने क्रममा बुधबार बिहानसम्म १७ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये १२ जनाको सनाखत भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार सनाखत हुन बाँकी रहेका शवमा ५ वटा  रहेका छन् । अन्यको खोजीकार्य जारी रहेको छ ।
००००
देशको सबैभन्दा ठूलो प्रशासनिक भवन रहेको सिंहदरबार परिसरमा मंगलबार अघि पछिभन्दा बढी चहलपहल देखियो ।
मुलुकका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहमतिमा सोमबार नयाँ सरकार गठन भएसँगै मन्त्रीहरुलाई बधाई दिन सिंहदरबार प्रवेश गर्नेको भीड दिनभर जारी रह्यो । नयाँ मन्त्रीहरुलाई शुभकामना दिने र बधाई ज्ञापन गर्न उपत्यकामा रहेका आफन्तजन मात्र नभई टाढा–टाढाका जिल्लाबाट नेता तथा कार्यकर्ता सिंहदरबार आइपुगेको देखिन्थ्यो ।
००००
समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्तावेज पेस गर्न कार्यदल बनाएको छ ।
 नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले १५ दिनभित्र दस्तावेज पेस गर्न कार्यदल बनाएको हो । 
पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिए ।
००००
सर्वोच्च अदालतले वास्तविक सुकुम्बासीको पहिचान गरी इचङ्गुनारायणमा बनेको आवासमा स्थानान्तरण गर्न आदेश दिएको छ ।

बागमती नदी किनारमा अतिक्रमण गरी सुकुम्बासीले घर बनाएको विषयमा परेको रिटमा सर्वोच्चले उक्त फैसला गरेको हो ।

सर्वोच्च अदालतको न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलाको पूर्णपाठमा उक्त कुरा उल्लेख छ ।
००००
प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई झण्डै एक वर्षपछि पक्राउ गरेको छ । 
जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का विकास योञ्जनलाई अपराह्न काठमाडौँको चाबहिलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
००००
सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पूर्व महालेखाका परीक्षक र पूर्व सचिहरूसँग छलफल गरेको छ ।

समितिको १६ औं बैठकमा पूर्व महालेखा परीक्षक टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डा दामोदर रेग्मीसँग छलफल गरिएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । 

राष्ट्रपति पौडेलले मंगलबार आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ प्रमाणीकरण गरेका हुन् ।
०००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ७०.१८ अंकले बढेको छ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट नेप्से परिसूचक एकैदिन ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ को बिन्दुमा पुगेको हो ।
यो पछिल्लो २३ महिनायताकै उच्च हो । यसअघि २०७९ वैशाख २९ गते नेप्से २३५० विन्दुमा पुगेको थियो ।
००००
महान्यायाधिवक्ता डा दीनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता पोखरेलले दिएको राजीनामा मंगलबार स्वीकृत गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा। पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको सरकार परिवर्तनले सिंगै देशलाई नयाँ आशा जगाएको बताएका छन् । विगतमाजस्तो पार्टीभित्रको घेराबन्दी अहिले नरहेकोले काम गर्न सहज रहेको उनले बताए । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पार्टीको सिन्धुपाल्चोक सम्पर्क कमिटीले आयोजना गरेको बधाई कार्यक्रममा ओलीले यसपटकको सरकार परिवर्तनले जनतामा नयाँ भरोसा पैदा गरेको बताएका हुन् । 
००००
मोरङको बेलबारीमा छोराबुहारीले वृद्ध बुवालाई जंगलमा लगेर छाडिदिएको खुलेको छ। बेलबारी–७ का ७० वर्षीय जामुनलाल झांगडलाई उनकै छोराबुहारीले बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा लगेर छोडिदिएका हुन् । 

छोराबुहारीले जंगलमा छोडेका उनको चार दिनपछि मंगलबार वनका कर्मचारीहरूले उद्धार गरेका छन् । ती वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीले बताए ।
००००
गत आर्थिक वर्ष २०८०–८१ मा सरकारको आयव्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षमा कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ ।  
गत आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा कूल १४ खर्ब आठ अर्ब ७६ करोड ४५ लाख बराबर मात्रै खर्च भएको छ । 
चालु शीर्षकमा गत आर्थिक वर्षका लागि ११  खर्ब ४१ अर्ब ७८ लाख ४१ हजार बराबर बजेट विनियोजन भएकोमा लक्ष्यको ८३ दशमलव ४१ प्रतिशत अर्थात् नौ खर्ब ५२ अर्ब ४१ करोड ५१ लाख बराबर खर्च भएको छ ।
००००
रमेश लेखक मन्त्री बनेपछि नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पद रिक्त भएको छ । यस्तै डा आरजु देउवा मन्त्री बनेपछि प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत साधन समिति पनि सभापतिविहीन भएको हो ।
००००
तलब, भत्तालगायत सेवासुविधा खानेगरी अध्ययन बिदा स्वीकृत गराई विदेश गएका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का १८ जना कर्मचारी उतै बेपत्ता भएका छन् । अमेरिका, अस्ट्रेलिया र क्यानडा गएका परिषद्का कर्मचारीहरू अध्ययन बिदा सकिएको लामो समय भए पनि उतै गायब भएका हुन् ।

परिषद् स्थापना भएदेखि हालसम्म अध्ययन बिदा स्वीकृत गराएर विदेश गएका कति कर्मचारी फर्किएनन् भन्ने एकीकृत अभिलेखसमेत छैन । तर, पछिल्लो केही वर्षदेखि तथ्यांक संकलन गरिएकोमा अध्ययन बिदाको समय सकिए पनि १८ जना कर्मचारीहरू हाजिर हुन नआएको परिषद्का तालिम तथा छात्रवृत्ति महाशाखा प्रमुख सुदीप गौतमले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्