
काठमाडाैं, ८ कात्तिक- आजभन्दा सय वर्ष पहिले अर्थात् सन् १९१७ को नोभेम्बर ७ का दिन कम्युनिस्ट नेता लेनिनको नेतृत्वमा रुसमा कम्युनिस्टहरूले सत्ता कब्जा गरेको एक शताव्दी पूरा भएको छ । नोभेम्बर ७ (तत्कालीन रुसमा प्रचलित पुरानो पात्रो अनुसार २५ अक्टोबर) का दिन रुसको पेत्रोग्रादको विण्टर प्यालेस कब्जा गरेर मजदुरहरूको नेतृत्व गर्ने भनिएको बोल्शेभिक सेनाले झण्डा गाडेका थिए । सय वर्ष पुरानो सो घटनालाई अहिले पनि कम्युनिष्टहरुले अक्टोबर क्रान्तिको रूपमा स्मरण गर्ने गर्छन् ।
रुसमा भएको सोही क्रान्तिको सिको गर्दै चीन लगायत विश्वका कैयौँ देशमा ‘क्रान्ति’ भएका थिए । अक्टोबर क्रान्तिपछि शोषक वर्ग र पुँजीवादी पार्टीहरूको बहुमत रहेको भन्दै रुसमा संविधानसभा विघटन गरिएको घटना नेपालको संविधानसभाको कार्यकालभरी चर्चाको विषय बन्न पुगेको थियो । पहिलो संविधानसभा बिघटन गर्ने माओवादी सरकारको कदमलाई कतिपयले अक्टोबर क्रान्तिको पूर्वअभ्यासको रूपमा समेत टिप्पणी गरेका थिए ।
अक्टोबर क्रान्तिले स्थापना गरेको समाजवाद रुसमा ७० वर्षसम्म चल्यो । विश्व राजनीतिमा आएको फेरवदल तथा अनेकौं कारणले सन् १९९१ मा सोभियत संघ ढल्यो र अक्टोबर क्रान्तिको विरासत इतिहास बन्यो । तरपनि विश्वका कम्युनिस्ट नेताहरू २१ औं शताव्दीमा पनि अक्टोबर क्रान्तिको सपना देख्न भने भुलेका छैनन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर पत्रिकालाई दिएको एक अन्तर्वार्तामा भनेका छन, ‘पुँजीवादको पुनःस्थापनाले विघटित सोभियत सङ्घका जनताले अत्यन्त दुःख पाइरहेका छन् । बेरोजगारी, महङ्गी, विदेशी पुँजीको छेलोखेलो, सारा अमेरिका र नाटोका साम्राज्यवादी देशहरूको हस्तक्षेप, सेनादेखि प्रशासनसम्म भ्रष्टाचार, आतङ्क, अपहरण, हिंसा आदिले ती गणतन्त्रहरू अहिले कहालीलाग्दो अवस्थामा छन् र अराजकता व्याप्त छ ।’
अक्टोबर क्रान्तिसँग नेपालको के साइनो?
१२ बुँदे सम्झौता हुँदै नेपालका माओवादी शान्ति प्रक्रियामा आएपछि नेपालमा अक्टोबर क्रान्तिको हौवा फिंजाइयो । माओवादीले अक्टोबर क्रान्ति गर्दैछन् भनेर तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले सार्वजानिक रूपमै बोलेपछि नेपालको राजनीति केही समय त्यसकै वरिपरि घुम्यो । २०६४ सालको निर्वाचनमा परम्परागत विरासत बोकेका नेपाली कांग्रेस र नेकपा एमालेको कुल सिट सङ्ख्या भन्दापनि ठुलो हैसियत साथ आएको माओवादीले उतिखेर ‘सत्ता कब्जा’ गर्ने हुंकार गर्दै हिडेको थियो ।
माओवादीको त्यही ‘सत्ता कब्जा’ गर्ने भनाइलाई लिएर तत्कालिन अमेरिकी राजदूत मोरियार्टीले माओवादीहरूले नेपालमा अक्टोबर क्रान्ति गर्न खोज्दैछन् भनेका थिए । त्यतिखेर माओवादीका क्रियाकलाप, भाषा र शैली करिब–करिब १९१७ को समयको बोल्सेभिकका जस्तै थिए अथवा त्यसैको नक्कल गरेका थिए । उनीहरूको भाषा हुनेगथ्र्यो, ‘सुकिला–मुकिलाले गर्दा देश बिग्र्यो । तिनलाई खेदिन्छ ।’ तर नेपालको परिस्थिति त्यो बेलाको रुसको जस्तो थिएन ।
र, माओवादीले चाहेको ‘सत्ता कब्जा’ वा मोरियार्टीले भन्ने गरेको अक्टोबर क्रान्ति नेपालमा भएन । बरु संसदीय व्यवस्थाबिरुद्ध हतियार उठाएका माओवादीहरू क्रमशः ‘सुधारिएको संसदीय व्यवस्था’मा बिलय भए । कुनैबेला संसदलाई ‘खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलो’को रूपमा चित्रित गर्ने माओवादीहरू कालान्तरमा संसदको सभामुख पदमा रमाउने दिन आयो । प्रधानमन्त्री र मन्त्री बन्ने दौडमा माओवादीले परम्परागत संसदवादी दललाई माथ गरे ।
दोस्रो संविधानसभाको निर्वाचनमा लज्जास्पद पराजय व्योहोरेपछि पनि माओवादीले अक्टोबर क्रान्तिको सपमा भने देख्न भने छाडेनन् । २०७१ वैशाख १८ देखि विराटनगरमा भएको सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक पार्टीको दस्ताबेजमा मुलुकलाई समाजवादतर्फ उन्मुख गराउन रुसमा लेनिनले गरेजस्तो अक्टोबर क्रान्तिको आवश्यकता नेपालमा पनि रहेको फेरि बताए । उसो त प्रचण्डले आज पनि लेनिनलाई नै आदर्श नेता बताउँछन् ।
भरखरै माओवादी केन्द्रका छाडेका लोकेन्द्र विष्ट अक्टोबर क्रान्ति विश्व कम्युनिस्ट आन्दोलनको कोशेढुङ्गाको रूपमा स्मरण गर्छन् । ‘अक्टोबर क्रान्तिले संसारका मजदुर श्रमजीवी र अर्धसचेत जनतालाई जागरुक मात्र बनाएन सत्ताको बैकल्पिक बिचार दिएको थियो,’ विष्ट भन्छन्, ‘बर्गसमाजमा सकेसम्म आफ्नो वर्गलाई शक्ति, सत्ता आफ्नो हातमा लिने कुरा शान्ति र क्रान्तिपूर्ण जुनसुकै ढङ्गले पनि हुनसक्छ ।’
पार्टी संसद् र सरकारमा सामेल रहँदा–रहँदै आफूलाई अझैपनि अर्धभूमिगत दाबी गर्ने नेकपा मसालका नेता मोहनविक्रम सिंह अक्टोबर क्रान्ति मानव जातिको इतिहासको नै अत्यन्त ठुलो, अद्वितीय र ऐतिहासिक महत्वको घटना भएको बताउँछन् । उसो त नेपालका सबैजसो कम्युनिस्ट पार्टीका कार्यालयमा अहिले पनि लेनिनका फोटा झुण्डाइएकै छन् ।
‘समाजवादी व्यवस्थाको पतन भएर पुँजीवादी व्यवस्थाको स्थापना भएको भए पनि आज विश्वव्यापी रूपमा समाजवादी आन्दोलन चलिरहेको छ । सोभियत सङ्घसहित विश्व समाजवादी व्यवस्थाको पतन भएको भए पनि त्यसको उज्ज्वल भविष्य छ । विश्वव्यापी रूपमा समाजवादी व्यवस्थाको विजय हुने कुरा अवस्यम्भावी छ,’ मोहनबिक्रम भन्छन् ।
सोभियतसंघको पतनसँगै विश्वमा कम्युनिस्ट आन्दोलन ओरालो लागेको समयमा नेपालमा माओवादी आन्दोलन उत्कर्षमा पुगेपनि त्यसको व्यवस्थापन सही ढङ्गले हुन नसकेको बाम विश्लेषकहरू बताउँछन् ।
नेकपा मसालको के कुरा, विद्रोहबाट आएको माओवादीलाई पनि त्यस कुरामा विश्वास छैन । ‘हामी माओवादीहरूले अक्टोबर क्रान्ति गर्न खोजेका थियौं कि थिएनौं घटनाक्रमले समीक्षा गर्ने विषय हो । तर अक्टोबर क्रान्ति इतिहासमा स्मरण योग्य र शिक्षाप्रद घटना चाहिँ पक्कै हो । यसको पक्षपोषण गर्ने र नयाँ ढङ्गले सोच्ने कुरालाई क्रान्तिकारीहरूले बिर्सन सक्दैनन्,’माओवादी नेता विष्ट भन्छन् ।
यस वर्ष भने विप्लव नेतृत्वको नेकपाले मात्र अक्टोबर क्रान्तिको अवसर पारेर कार्यक्रमको गरेको छ । उसले बुधबार खुल्ला मञ्चमा सभाको अयोजना गरेको छ ।