१७ असार २०८३, बुधबार

भारतीयहरू बेलायतमा समेत गर्छन् जातीय भेदभाव !

कात्तिक २०, २०७४
भारतीयहरू बेलायतमा समेत गर्छन् जातीय भेदभाव !

काठमाडौं, ८ कात्तिक — जात शब्दलाई बेलायतको समानता कानूनमा समावेश गरिएला त ? बेलायती सरकारले जात शब्दमाथि कैयौं वर्षदेखि विचार गरिरहेको छ र हालै सार्वजनिक रूपमा यसमाथि चर्चा पनि भएको छ ।


धेरै संगठनहरू एसियाली समुदायमा जातीय भेदभाव हुने गरेको र यो समाप्त हुनुपर्ने धारणा राख्छन् । तर धेरै मानिस चाहिँ यस्तो केही पनि नभएको बताउँछन् ।

लता लन्डननजिकको एक शहरमा बस्छिन् । उनले आफ्नो पहिचान नखुलाइकन बीबीसीलाई कथाव्यथा सुनाएकी छन् ।

उनी भन्छिन्, ‘एकचोटि किनमेल गर्न जाँदा ममाथि दुर्व्यवहार भयो । एक महिला र उनकी छोरीले मलाई चिन्थे किनकि एउटा बिहेमा हाम्रो भेट भएको थियो । टेस्कोमा किनमेल गर्न लाग्दा उनीहरूले मलाई कार पार्किङ गर्ने ठाउँमा बाटो रोके । मैले उनीहरूलाई एक्स्क्युज मी भन्दा उनीहरू ममाथि रिसाए र फोहोरी गाली दिन थाले । उनीहरूले मलाई घिनलाग्दी चमार्नी भने । त्यसपछि म र मेरी छोरी बेस्सरी डरायौं ।’

लताकी छोरीले उनलाई चमार्नीको अर्थ सोधिन् । उनले लन्डनमा छाला बोकेर नआएको र यहाँ सबै भारतीय नै भएको छोरीलाई बताइन् । तर यो घटना आश्चर्यजनक नै छ ।

लतालाई यो घटनाले निकै चोट दियो । उनी प्रहरीकहाँ पनि पुगिन् । तर प्रहरीले उनलाई सहायता गर्न सकेन किनकि उनीहरूलाई जात भन्ने कुरा के हो भन्ने नै थाहा भएन ।

फेडरेसन अफ अम्बेडकराइट एन्ड बुद्धिस्ट अर्गनाइजेसन ब्रिटेनका सन्तोष दास भन्छन्, ‘नयाँ अध्ययनअनुसार, जातका आधारमा भेदभाव बेलायतमा समेत हुने गरेको हामीले थाहा पाएका छौं । एक अनलाइन सर्वेक्षणमा नौ प्रतिशत मानिसले काममा उन्नति गर्न नसकेको र नौ प्रतिशतले आफूमाथि मौखिक दुर्व्यवहार भएको गुनासो गरे ।’

दासले थपे, ‘बाह्र वर्षभन्दा कम उमेरका सात प्रतिशत मानिसले बताएअनुसार विद्यालयमा उनीहरूलाई धम्की दिइयो र १२ वर्षीय किशोरहरूले एसियाली मूलका शिक्षकले जात के हो भनी सोधेको बताए ।’

तर केही हिन्दू संगठनहरूले यस्ता प्रतिवेदनलाई खारेज गर्दे यो निष्पक्ष नभएको बताए । नेसनल काउन्सिल अफ हिन्दू टेम्पल्सका महासचिव सतीश शर्माले भने, ‘हामीले यसमाथि अनुसन्धान गर्दा प्रतिवेदन तयार पार्ने क्रममा पक्षपात भएको पायौं ।’

सामुदायिक संगठनहरूले जातसम्बन्धी कानून बनाउँदा रोजगारीको समस्या बढ्नसक्ने बताए ।

संगठनहरूका अनुसार, जातसम्बन्धी कानून बन्दा कम्पनीहरूले हिन्दू र भारतीय उपमहाद्वीपबाट आउने मानिसलाई जागिर दिनुअघि सोच्नेछ किनकि कुनै पनि व्यक्तिले जातको आधारमा मुद्दा हाल्न सक्छ ।

तर जातको आधारमा हुने भेदभाव गलत रहेको विषयमा सबै सहमत छन् । कानून बनाएर समस्या समाधान हुन्छ भन्ने विषयमा चाहिँ आम सहमति छैन । आउने हप्ताहरूमा बेलायती सरकारले यसको कस्तो समाधान निकाल्ला भनी सबैजना हेरिरहेका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्