०७ असार २०८३, आइतबार

लुम्बिनीका दुई ठूला भन्सार कार्यालयबाट लक्ष्यभन्दा निकै कम राजस्व संकलन

साउन ३, २०८१
बुटवल
लुम्बिनीका दुई ठूला भन्सार कार्यालयबाट लक्ष्यभन्दा निकै कम राजस्व संकलन

लुम्बिनी प्रदेशका दुई ठूला भन्सार कार्यालयले लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेका छन् ।  भैरहवा र नेपालगञ्ज भन्सार कार्यालय राजस्व संकलनमा लक्ष्यको छेउछाउसमेत पुग्न नसकेका हुन् ।

यी दुवै भन्सार कार्यालय गत आर्थिक वर्ष २०८०–८१ मा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भए । रुपन्देहीको भैरहवा भन्सार कार्यालयबाट लक्ष्यको ६३.२४ प्रतिशत र बाँकेको नेपालगञ्जबाट लक्ष्यको ६३.३४ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।  

भैरहवा भन्सारले आव ०८०–८१ मा १ खर्ब २७ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६३.२४ प्रतिशत मात्रै संकलन भएको कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । 

उनका अनुसार एक वर्षमा ८० अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । आयात परिमाणका दृष्टिले भैरहवा मुलुकको दोस्रो ठूलो भन्सार नाका हो । 

कार्यालयले अघिल्लो आव २०७९–८० मा १ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँको लक्ष्य राखेकोमा ७६ अर्ब ८८ करोड (४९.४१ प्रतिशत) मात्र राजस्व संकलन गरेको थियो । 

यस्तै आव २०७८–७९ मा १ खर्ब २७ अर्ब राजस्व उठाउने लक्ष्य थियो । जसमा १ खर्ब १५ अर्ब रुपैयाँ संकलन भएको थियो । कोरोना भाइरस महामारीका बीचमा पनि आव २०७७–७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन थियो । 

नेपालगञ्ज भन्सार कार्यालयले गत आव ०८०–८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । २८ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा १८ अर्ब १५ करोड मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए ।  

नेपालगञ्ज भन्सार कार्यालयले पनि गत आवका कुनै पनि महिनामा लक्ष्य पूरा गर्न सकेन । नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात हुन्छ । यस्तै नेपालगञ्जबाट जडीबुटी, एसेन्सियल आयल, दालचिनी, अलैँची, प्लाइउड, खोटो रोजिन लगायतका अन्य वस्तु भारततर्फ निकासी हुने गरेको छ । 

आर्थिक मन्दीले कम आयात हुनु र सरकारका अन्य नीतिगत समस्याका कारण गत आवमा राजस्व असुली खुम्चिन पुगेको भैरहवा भन्सारले जनाएको छ । 

कार्यालयका प्रमुख गौतमले बेलहिया नाका हुँदै हुने आयात खुम्चिँदा लक्ष्य भेट्टाउन नसकिएको बताए । बढी भन्सार राजस्व दिने वस्तुकै आयात घटेको र अघिल्लो आवमा भएको असुलीको तुलनामा राजस्व संकलन केही बढेको उनले बताए । बेलहिया नाकाबाट सबैभन्दा बढी आयात हुने जीप, कार, भ्यान, मोटरसाइकल, डिजेल, पेट्रोल, फलामे ब्लेड, मार्बल, खाद्यान्न र अन्य व्यापारिक वस्तुको आयात घट्दा राजस्व संकलनमा प्रभाव परेको उनको भनाइ छ । साना सवारीसाधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झण्डै २५ प्रतिशत योगदान रहने गरेको बताइन्छ ।  

भैरहवा भन्सारबाट हुने निर्यात भने बढेको छ । अघिल्लो आव ०७९–८० को तुलनामा आव ०८०–८१ मा निर्यात बढेको छ । 

अघिल्लो आवमा १० अर्ब ९६ करोड रुपैयाँ बराबरका विभिन्न नेपाली वस्तु विदेश निकासी भएकोमा आव ०८०–८१ को जेठ मसान्तसम्ममा १३ अर्ब १७ करोड रुपैयाँ बराबरको निकासी भएको छ । 

भैरहवा भन्सारबाट सेन्थेटिक यार्न, सिमेन्ट, सिमेन्ट क्लिङ्कर, अल्किड रेजिन र अन्य पिभिसी रेजिन, खोटो रोजिन, चाउचाउ, अन्य नुडल्स, पास्ता, प्लाइउड, जडीबुटी, पिना र अन्य वनस्पतिजन्य उत्पादन निर्यात हुने गर्दछन् । 

कमेन्ट गर्नुहोस्