२१ जेठ २०८३, बिहीबार

अम्बिका श्रेष्ठ: पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व

साउन ३, २०८१
काठमाडौं
अम्बिका श्रेष्ठ: पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व

वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको आज ९२ वर्षको उमेरमा आज निधन भयो । उनको निधनपछि प्रतिक्रिया दिँदै पर्यटन व्यवसायीहरुले मुलुकको पर्यटन क्षेत्रले सच्चा अभिभावक गुमाएको बताएका छन् । 

पर्यटनमार्फत नेपाली कला, संस्कृति र सभ्यता विश्वमाझ प्रबद्र्धनमा श्रेष्ठले पु¥याएको योगदान अतुलनीय रहेको उनीहरुको भनाइ छ । स्वदेशमा मात्र नभई विश्व पर्यटन बजारमा प्रसिद्ध बुटिक होटल द्वारिकाजलाई सामान्य छाप्रोबाट पाँच तारे स्तरको बनाउनमा संस्थापक श्रेष्ठले ठूलो योगदान पु¥याएको उनीहरुको भनाइ छ । 

वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले पर्यटन क्षेत्रको प्रेरणादायी व्यक्तित्व श्रेष्ठको निधनले यस क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । “उहाँ नेपालका लागि सच्चा स्वयंसेवक हुनुहुन्थ्यो, पर्यटनमा मात्रै नभइ सामाजिक काममा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो”, मिश्रले भने, “पर्यटनको बजारीकरण र प्रवर्द्धनमा उहाँ जत्तिको अनुभवी व्यक्तित्व निकै कम छन् ।” पर्यटन क्षेत्रमा पछिल्लो पुस्ताले उनीबाट धेरै कुरा सिकेको उनको बुझाइ छ । “उहाँको योगदानलाई पर्यटन क्षेत्रले जहिले पनि सम्झिरहने छ”, उनले भने । 

नेपाली कला, संस्कृतिलाई संवर्द्धन गर्दै व्यावसायिक रुपमा सफल एवं सुविधा सम्पन्न तारे होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएकी श्रेष्ठले प्रारम्भ गरेको महिला उद्यमशिलताको विकास स्वदेशमा मात्र नभई विदेशमा चर्चामा छ । उनी र उनको परिवारबाट प्रवर्द्धित हेरिटेज होटल तथा रिसोर्टले नेपालको चिनारी अन्तर्राष्ट्रिय जगतमा उल्लेखनीय छ । 

नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही सम्बन्धित विभिन्न सङ्घ सङ्गठनमा प्रभावकारी नेतृत्व गर्नुहुने स्व श्रेष्ठको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियान्ता गुमाएको होटल सङ्घका अध्यक्ष विनायक शाहले बताए । 

उनले भने, “मुलुकको कला, संस्कृति र सभ्यताको समीश्रण गरी व्यावसायिक रुपमा सुविधा सम्पन्न पाँचतारे होटल सञ्चालन गरी विश्व पर्यटन बजारमा मानकका रुपमा स्थापित गर्ने श्रेय अम्बिका श्रेष्ठलाई जान्छ, यसले देश र समाजलाई महत्वपूर्ण योगदान दिएको छ ।”

पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्गठनको नेतृत्वदायी भूमिकामा लामो समय काम गरेको अनुभवका साथै नेपाललाई विश्वभर चिनाउन श्रेष्ठ र उनले नेतृत्व गरेको होटलको महत्त्वपूर्ण भूमिका रहेको अध्यक्ष शाहले बताए । उनले श्रेष्ठ भौतिक रुपमा नरहे पनि उनले पर्यटन क्षेत्रमा पु¥याएको योगदान सधैँ चीरस्मरण रहने बताए ।

 नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत श्रेष्ठले नेपाल सम्पदा सङ्घमार्फत सम्पदा संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिएकी थिइन् । पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तिकरणमा पनि श्रेष्ठको महत्त्वपूर्ण भूमिका छ ।

वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य जीवनको उत्तरार्धमा वैशाखी टेकेर पनि पर्यटनका हरेकजसो कार्यक्रममा सक्रिय सहभागी हुने श्रेष्ठको उपस्थिति र ऊर्जाशील भनाइले नयाँ उद्यमीलाई उत्साह र उत्प्रेरणा जगाने गरेको बताए ।  

 नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रले आज अभिभावक गुमाएको बताए । “श्रेष्ठको गुणस्तरीय र वातावरणमैत्री पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा अतुलनीय योगदान छ”, उनले भने, “श्रेष्ठ नयाँ पुस्ताका लागि ऊर्जाशील र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो । जीवनको उत्तरार्द्धमा पनि उहाँको उत्तिकै सक्रियता थियो ।”

 विगत ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । भारतको सिक्किममा सन् १९३३ फेब्रुअरी १२ मा जन्मिएकी श्रेष्ठले पटना विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक तह उत्तीर्णय गरेकी थिइन् । नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौँ आएकी श्रेष्ठ श्रीमान्को मृत्युपछि द्वारिकाज होटलको अध्यक्ष भइन्। 

पछिल्लो समय उनकी जेठी छोरी सङ्गीता श्रेष्ठले होटलको नेतृत्व सम्हालिरहेकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्