संसद् भवन निर्माणमा भइरहेको ढिलाइबारे सभामुख देवराज घिमिरेले चासो व्यक्त गरेका छन् ।
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव मणिराम गेलाललगातलाई सिंहदरबार बोलाएर संसद् भवन निर्माणमा भइरहेको ढिलाइबारे जानकारी लिएका हुन् ।
सभामुखको कार्यकक्षमा भएको छलफलमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक र संसद् भवन निर्माण आयोजनाका प्रमुखसहित अन्य सम्बन्धित अधिकारीहरूको पनि उपस्थिति थियो ।
त्यसक्रममा सभामुख घिमिरेले पटक-पटक म्याद थप हुँदा पनि भवन निर्माण सम्पन्न नभएकोप्रति चासो व्यक्त गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणका लागि शिलान्यास गरेका थिए ।
शुरूआती म्यादअनुसार २०७९ भदौमै सकिनुपर्ने काम अझै सम्पन्न भएको छैन । निर्माणको काम टुण्डी सेक ज्वाइन्ट भेन्चरले गर्दै आएको छ ।
५ अर्ब २ करोड रुपैयाँमा ठेक्का सम्झौता भएकोमा अहिले त्यो बढेर साढे ५ अर्ब नाघिसकेको छ ।