३२ असार २०८३, बिहीबार

प्रधानमन्त्री ओलीलाई एमालेले दियो १० बुँदे सुझाव

साउन ४, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीलाई एमालेले दियो १० बुँदे सुझाव

सत्ताको नेतृत्व गरेका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा एमालेले १० बुँदे सुझाव दिएको छ । 

उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाटै माग आएअनुसार सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई  १० वटा सुझाव दिइएको जानकारी दिए । 

२१ असारमा पार्टीले विभागहरूलाई निर्देशन दिँदै नयाँ सरकारका लागि सुझाव दिन आग्रह गरेपछि २८ वटा विभागबाट प्राप्त भएका सुझाव बुझाइएको जानकारी ज्ञवालीले दिए । 

एमालेले सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताको अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषयमा सुझाव दिएको हो । त्यस्तै, सेवाप्रवाहमा सहजता, झञ्झटिलो प्रशासनिक प्रक्रिया अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषय समेत सबै विभागबाट साझा सुझावका रूपमा आएको छ ।

खाद्य सुरक्षाको प्रत्याभूति, नयाँ रोजगारी सिर्जना र आर्थिक वृद्धिका लागि कृषि क्षेत्र सर्वाधिक महत्वपूर्ण रहेकाले कृषिको व्यवसायीकरण, आधुनिकीकरण, किसानहरूको हकहितको रक्षा र कृषिमा बहुआयामिक लगानी वृद्धि गर्न विशेष जोड दिइएको छ ।

कृषिको व्यावसायिक विकास गर्न चाहने कृषि उद्यमीहरूको पहिचान तथा तिनीहरूलाई प्रोत्साहन गर्न सरकारलाई सुझाव दिइएको छ ।

नेपालको भूमि समस्या जटिल भएको, सही तथा अद्यावधिक तथ्याङ्कहरू नभएको, भूमिहीनहरूको संख्या ठूलो भएको, एकीकृत सूचनाको अभाव भएको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गरेको छ । 

अवसरको अभाव भएको भन्दै उद्यमशीलतामा जोड दिनुपर्ने, आईटी क्षेत्रमा नयाँ अवसरको खोजी गर्नुपर्ने, शिक्षामा सुधार गर्नुपर्ने विषय पनि पार्टीलाई दिइएको छ । 

त्यस्तै, विकास निर्माणमा देखिएको भद्रगोललाई हटाउन, राजनीतिक उद्देश्यले प्रेरित योजनाको छनोट र बजेट विनियोजनामा अनुगमनमा पनि पर्याप्त ध्यान दिन एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । 

व्यावसायिक वातावरण बन्न नसकेको, सहकारीको समस्या समाधान गर्न, राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्नुपर्नेसहितका सुझाव एमालेले दिएको छ । 

त्यस्तै, सामाजिक सञ्जालको व्यावसायिक विकासका लागि सदुपयोग गर्न, मिथ्या र भ्रामक सूचनालाई निरुत्साहित गर्न पनि एमालेले सुझाएको छ । 

उत्पादनमा वृद्धि, सुशासन, परिवर्तनविरोधी र उग्र जातिवाद तथा क्षेत्रीयतावादको चुनौतीलाई चिर्न पनि ओलीलाई पार्टीको सुझाव छ ।
 

salt training

कमेन्ट गर्नुहोस्