नेपाली सेनाले काठमाडौंको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ ।
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौं महानगरपालिका- १३ स्थित वाहिटी, सीतापाइलामा निर्माण भएको रिपुमर्दिनी पेट्रोल स्टेसनको शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले शुभारम्भ गरेका हुन् ।
यसै गरी आजै प्रधानसेनापतिले काठमाडौंको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहको समेत समुद्घाटन गरेका छन् ।
पचास हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउने छन् ।
नेपाली सेना, कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौंको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन् ।
नेपाल सरकारको स्वीकृतिमा राष्ट्रिय सुरक्षालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको रणनीतिक मौज्दात कायम राख्नका साथै आन्तरिक मागको आपूर्तिलाई सहजीकरण गर्ने उद्देश्यसहित फ्युल स्टेसनहरू सञ्चालनमा रहेका सेनाले जनाएको छ ।
समुद्घाटन समारोहमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, स्थानीय निकायका पदाधिकारीहरू, सडक विभाग तथा नेपाल आयल निगमका प्रतिनिधिहरूको उपस्थिति थियो ।