
अल कायदाका संस्थापक एवम् सेप्टेम्बर हमलाका प्रमुख योजनाकर्ता ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’लाई पक्राउ गरेको पाकिस्तानी अधिकारीहरूले शुक्रबार बताएका छन् ।
पञ्जाबको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्तका आतङ्कवाद विरोधी अधिकारीहरूले विध्वंसकारी गतिविधिहरूको योजना बनाएको र देशका महत्त्वपूर्ण प्रतिष्ठानहरूलाई लक्षित आक्रमण गर्न खोजेको आरोपमा गुजरात सहरबाट अमिन उल–हकलाई पक्राउ गरिएको हो ।
'अमिन उल–हकको गिरफ्तारी पाकिस्तान साथै विश्वभर आतङ्कवादसँग लड्न जारी प्रयासहरूमा ठुलो विजय हो,' पञ्जाबको आतङ्कवाद विरोधी विभागको एक विज्ञप्तिमा भनिएको छ।
उनलाई संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र संयुक्त राष्ट्र सङ्घले अल–कायदा र बिन लादेनको सहयोगीको रूपमा सूचीबद्ध गरेको थियो ।
अफगानिस्तानबाट पश्चिमी नाटो सेना फिर्ता भएपछि उनी फेरि देखा परेका थिए । उनले अगस्टमा अफगानिस्तानको भ्रमण गरेर अल–कायदाको पुनर्गठन गर्ने प्रयास शुरू गरेका थिए।
आक्रमणका प्रमुख योजनाकर्ता बिन लादेन पाकिस्तानमा बसेको पत्ता लागेको थियो र उनको सन् २०११ मा अमेरिकी कारबाहीमा गोली लागी मृत्यु भएको थियो ।
तालिबानले अफगानिस्तानमा दुई दशक लामो लडाइँपछि अमेरिकालगायत उसका सहयोगी मुलुकको समर्थन प्राप्त सरकारलाई विस्थापित गरेर सन् २०२१ मा सत्ता फिर्ता लिएको छ ।