
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राजनीतिक स्थायित्व दिन र नागरिकमा भरोसा बढाउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ कटाउने गरी विश्वासको मतको तयारी गरेका छन् ।
असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबार विश्वासको मत लिँदा २ सयको आँकडा पार गराउने गरी तयारी गरेका हुन् ।
गत असार २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतको पक्षमा जम्मा ६३ मत खसेको थियो । विपक्षमा १९४ मत खस्यो ।
यही १९४ मत कायम राखेर २ सयको आँकडा पार गर्ने तयारी गरेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘कांग्रेस र एमाले हुँदा नै सरकारमा स्ट्रङ मेजोरिटी छ । देश अप्ठ्यारो अवस्थामा रहेकाले पहिलो र दोस्रो दल मिलेर सरकार बनाएका हुन्,’ बर्तौलाले भने, ‘सिंगो हाउस सरकारको पक्षमा छ भन्ने सन्देश दिन, नागरिकलाई डेलिभरी दिन र राजनीति स्थायित्वमा मुलुकलाई अगाडि बढाउन प्रधानमन्त्रीले धेरै दललाई विश्वासमा लिन खोज्नुभएको हो ।’
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताएका छन् ।
नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको उनको भनाइ थियो ।
००००
सत्ताको नेतृत्व गरेका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा एमालेले ३१ बुँदे सुझाव दिएको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाटै माग आएअनुसार सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई सुझाव दिइएको जानकारी दिए ।
२१ असारमा पार्टीले विभागहरूलाई निर्देशन दिँदै नयाँ सरकारका लागि सुझाव दिन आग्रह गरेपछि २८ वटा विभागबाट प्राप्त भएका सुझाव बुझाइएको जानकारी ज्ञवालीले दिए ।
००००
सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको दोस्रो दिन अर्को अधिवेशन आह्वान गरिएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख नजिर मियाँले आज प्रदेशसभाको अधिवेशन यही साउन ८ गते आह्वान गरेको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
००००
विपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।
नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।
पार्टीले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए ।
००००
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पुत्ला दहन गरिएको छ । शुक्रबार साँझ न्यूरोडमा फुटपाथ विस्तारको विरोधमा रहेका स्थानीयले शाहको पुत्ला दहन गरेका हुन् ।
उच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तार थालेपनि स्थानीयले विरोध गर्दै आएका छन् । यही विषयमा दुई पक्षबीच विवाद चर्किएको छ ।
००००
लाइन काटिएका उद्योगहरूमा तुरुन्त लाइन जोडिदिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।
डेडिकेटेड र ट्रंक लाइन विवाद देखाएर घिसिङले पछिल्लो समय ६ उद्योगको लाइन काटेका थिए ।
००००
अमेरिकामा मानव तस्करी गर्न खोजेको आरोप लागेपछि उपसभामुख इन्दिरा रानाले मुख खोलेकी छिन् । प्रष्टीकरण दिँदै उनले सदन र पदको गरिमामा आँच आउने गरी कुनै काम नगरेको र नगर्ने बताएकी छिन् ।
रानाले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले अमेरिकी भिसाका लागि अमेरिकन दूतावासलाई पत्र नलेखेको स्पष्ट पारेकी छिन् ।
००००
नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
उच्चले शुक्रबार सार्वजनिक गरेको पूर्णपाठमा परिस्थितिजन्य प्रमाणबाट लामिछानेमाथि गलाइएको आरोप पुष्टि नहुने उल्लेख गरिएको छ ।
००००
चालू आर्थिक वर्ष २०८१/०८२ मा निमित्त मुख्यसचिव लीलादेवी गड्तौलासहित १७ जना सचिव सेवानिवृत्त हुने भएका छन् ।
राष्ट्रिय किताबखाना (निजामती) कार्यालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार मुख्यसचिव गड्तौलाले यही भदौ १५ गते अवकाश पाउनेछिन् ।