
मीना सुनारले भलिबल खेल्न थालेको साढे दुई वर्ष पनि पूरा भएको छैन । तर, बाग्लुङमा जन्मिएकी यी १६ वर्षीया किशोरीले भलिबलमा मारेको छलाङ भने लोभलाग्दो छ ।
शून्यबाट खेल शुरू गरेकी मीनाले दुई वर्षको अन्तरालमै विद्यालय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टोलीको ढोकासम्म खोलिन् । उनले हालै नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा ‘डेब्यु’ गरेकी छिन् । साथै मीना अहिले एभरेस्ट भलिबल क्लबमा आबद्ध छिन् । प्रदेश र जिल्लामा आयोजना हुने विभिन्न प्रतियोगितामा आफूलाई अब्बल ठहराउनु नै मीनाका लागि राष्ट्रिय टोलीमा पुग्ने आधार हो ।
यो सबै प्राप्त हुनुमा आफूले छोटो समयमा गरेको मेहनत र संघर्ष नै प्रमुख रहेको मीना ठान्छिन् । ‘भलिबलको अथाह प्रेम र लगावले नै मलाई यस क्षेत्रमा लगाएको हो । यसमा तीव्र प्रतिस्पर्धा छ । यो बुझ्नु पर्छ कि– प्रतिस्पर्धा बिनाको खेल र संघर्ष बिनाको जीवन सम्भव छैन,’ उनी भन्छिन्, ‘अहिले निरन्तर भलिबलमै लाग्न सक्छु भन्ने अठोट बटुलेकी छु ।’
मीना रूपन्देहीको एभरेस्ट बोर्डिङ स्कुलको छात्रावासमा बसेर पूर्ण छात्रवृत्तिमा पढ्दै छिन् । उनको भलिबल यात्रा पनि त्यहीँबाट शुरू भएको हो । त्यही प्रशिक्षण लिएकी मीनाले दुई वर्षमा आशातीतभन्दा बढी सफलता पाएको उनका प्रशिक्षक अर्जुन घिमिरे बताउँछन् ।
ढोरपाटन नगरपालिका–२ स्थित बुर्तिवाङको विपन्न परिवारमा वि. सं २०६५ मा जन्मिएकी मीनाले गाउँमा पढ्दा साँच्चै अहिलेको दिन कल्पेकी थिइनन् । ‘यति चाँडै नेपाली राष्ट्रिय महिला भलिबल टीमबाट खेल्ने त मैले सपनामा पनि सोचेकी थिइनँ । तर, मैले यो सफलता चाँडै हात पारेकी छु ।’
कम उमेरमै ‘डेब्यु’ गरेकी मीना अहिले नेपाली महिला भलिबल टोलीमा मुख्य खेलाडीको रूपमा दर्ज भइसकेकी छिन् । त्यसो त उनी औसतभन्दा अग्ली र पातली पनि छिन् । यही ५ फिट ९ इन्चको उचाइले उनलाई भलिबलको शिखर चुम्न सहयोग गरिरहेको छ ।

‘यही उचाइकै कारण मैले १४ वर्षको उमेरमा राष्ट्रिय भलिबलमा ‘इन्ट्री’ पाए,’ उनी भन्छिन्, ‘ममाथि सम्भावना देखेर नै एभरेस्ट स्कुलको छात्रवृत्तिमा पढ्ने मौका पाएकी हुँ,’ उनले भनिन् ।
मीना टोलीकी ‘स्पाइकर’ हुन् । ‘आउट साइड हिटर’को रूपमा खेल्ने उनी यसै साता माल्दिभ्स अन्डर २० इन्टरनेसनल भलिबल टुर्नामेन्ट (काभा यू–२० च्याम्पियनसीप) खेल्न माल्दिभ्समा छिन् । मीनाको छरितोपन नै सबैभन्दा बलियो पक्ष भएको प्रशिक्षकहरू बताउँछन् । उनको बल ‘रिसिभिङ’ क्षमता पनि राम्रो रहेको बताइन्छ ।
मीनाकी दिदी शान्ता सुनार पनि भलिबल खेलाडी थिइन् । यहीबाट नै मीनाको भलिबलप्रति लगाव शुरू भएको हो । तर, बागलुङबाट बुटवल झरेकी मीनाले भलिबलमा संघर्ष भने एक्लै गर्नुपर्यो । कक्षा १० मा पढ्दापढ्दै उनी भलिबलमा लाग्न पुगिन् ।
‘मेरी दिदी शान्ता भलिबल खेलाडी हुनुहुन्छ,’ मीना थप्छिन्, ‘यसका बीच म यो क्षेत्रमा आउँछुजस्तो लागेको थिएन । बुटवल झरेर शून्य लेबलबाट खेल्न थालेकी हुँ । खेल्न थालेपछि यसैमा लागिरहन मनैदेखि तयार भएँ,’ उनले भनिन्, ‘अहिले राष्ट्रिय टीमसम्म आइपुग्दा खुसी छु । अहिलेसम्म राम्रो गरेकी छु । अझै राम्रो गर्दै जाने विश्वास छ ।’
भलिबल नेपालको राष्ट्रिय खेल हो । शहरी क्षेत्रमा यस खेलप्रति रूचि र चासो कम देखिए पनि गाउँ–गाउँमा भने यसको लोकप्रियता बढ्दो छ । बढीजसो गाउँबाट खेलेर आएका नै राष्ट्रिय टोलीमा पुगेको पाइन्छ । भलिबल खेलाडीका लागि औसत उचाइ ५.६ इन्च मानिन्छ । तर, भलिबल उचाइ कम भएकाले पनि खेल्न सक्ने मीना बताउँछिन् । ‘तर, उचाइ कम हुने बढी जम्प गर्नुपर्ने हुन्छ,’ उनले भनिन् ।
अहिले एभरेस्ट भलिबल क्लब महिला खेलाडीको ‘हब’को रूपमा चिनिन्छ । अन्य जिल्लाभन्दा रूपन्देही महिला भलिबलमा अघि रहेको एभरेस्टका प्रशिक्षक अर्जुन घिमिरेको दाबी छ । तर, त्योअनुसार राज्यले लगानी गर्न नसकेको र उपेक्षा गरेको उनको गुनासो छ ।
यी गुनासोबीच घिमिरे मीनाको सफलताबाट खुसी छन् । उनी एभरेस्टमार्फत् आफूले प्रशिक्षण दिएकी मीनामा भलिबलमा ठूलो सम्भावना देख्छन् । ‘एभरेस्टले महिला भलिबल खेलाडी धेरै उत्पादन गरेको छ,’ घिमिरे भन्छन्, ‘विभागीय टीमहरू नेपाल आर्मी, एपीएफ र नेपाल पुलिसमा ३–३ जना हामीले उत्पादन गरेका खेलाडी छन् । यू–२० मा एभरेस्टका ४ जना खेलाडी छन् । त्यसमध्ये यति छोटो समयमा राष्ट्रिय टीममा आउनु मीनाको ठूलो छलाङ हो ।’
नेपालमा भलिबल सम्भावना बोकेको लोकप्रिय खेल भए पनि यो राज्यबाट उपेक्षामा परेको प्रशिक्षक घिमिरे बताउँछन् । यसमा लगानी कम गर्ने गरेकाले प्रतिफलको ठूलो आशा पनि नगरिएको उनको भनाइ छ ।
‘राज्यको उपेक्षाबीच हामीजस्तैको प्रयासले भलिबल क्षेत्र विस्तारै आशावादी बन्दै गएको छ । यस क्षेत्रमा भएका कमजोरी सुधार गर्नुपर्छ,’ उनी भन्छन्, ‘सरकारले विभिन्न शहरमा कभर्डहल बनाउनुपर्छ । विद्यालय स्तरका प्रतिस्पर्धाहरू बढाउँदै लैजानुपर्छ ।’
अन्य जिल्लाभन्दा रूपन्देही महिला भलिबलमा अघि छ । भलिबलले राज्यको लगानी कम छ । स्थानीय तह र प्रदेश सरकारले पनि भलिबल विधालाई प्राथमिकतामा राख्न सक्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय खेल घोषणा गरिए पनि देशमा कतिपय ठाउँमा भलिबल के हो र यो कसरी खेलिन्छ भन्नेसमेत जानकारी नभएको पाइएको मीनाले गुनासो गरिन् । यसर्थ तालिमप्राप्त प्रशिक्षकहरू पठाएर ती स्थानमा प्रशिक्षण दिन आवश्यक रहेको उनी बताउँछिन् ।
स्थानीय स्तरमा भलिबल खेलाडीलाई हौसला र माया दिने गरेकोप्रति आफू कृतज्ञ रहेको मीनाले बताइन् । ‘दर्शकको समर्थन र हौसलाले हामीले खेल क्षमता बढेको अनुभूति गर्ने गर्छौं । जनस्तरमा खेल र खेलाडीलाई माया र सम्मान गर्ने ‘ट्रेन्ड’ बस्दै गएको छ । यो देख्दा खुसी लाग्छ,’ उनले थपिन् ।
वर्तमान समयमा नेपाली युवायुवतीमा मोबाइलको लत बसेको बताउँदै मीना त्यसमा भन्दा पढाइसँगै आफूलाई रुचि भएको खेल खेल्न सुझाव दिन्छिन् ।
संगीत, नृत्य, खेलकुद वा अन्य कुनै क्षेत्रमा लागेमा शारीरिकसँगै मानसिक स्वास्थ्य पनि राम्रो हुने उनी बताउँछिन् । ‘खेलले युवालाई सही मार्गमा हिँडाउन सक्छ,’ उनले भनिन् ।
मीनाको लक्ष्य अझै योभन्दा माथि छ । उनीसँग प्रगति गर्ने उमेर छ । मीना लुम्बिनी प्रदेशसँगै समग्र देशको नाम चिनाउने सोचमा छिन् । आफ्नो भविष्य खेलमै बनाएर एउटा सफल प्रशिक्षक पनि बन्ने मीनाको सोच छ ।
नवप्रवेशी खेलाडीहरूलाई उनी यो क्षेत्रमा सफल हुन उपयुक्त खानपान, निरन्तरको मेहनत र खेलका स्किल बुझ्न सुझाव दिन्छिन् ।