
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता समीकरणका लागि कांग्रेस-एमालेबीचको सहमति चाँडै सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्बाट सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।
४२ औं बीपी स्मृति दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । हस्ताक्षरकर्ता मध्येका एक प्रधानमन्त्री ओली आफैं रहेकाले विश्वासको मत लिने क्रममा उक्त सम्झौता सार्वजनिक गर्नुपर्ने उनले बताए ।
कांग्रेस-एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार नै कांग्रेसले कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरेको थापाको भनाइ थियो ।
नेपाली कांग्रेस सम्झौताअनुसार नै अगाडि बढेकाले एमाले पनि सोही अनुसार अगाडि बढ्नुपर्ने उनले बताए । 'लिखित समझदारी जे भएको छ, त्यसमा कांग्रेसले केही पनि तल-माथि गर्दैन,' उनले भने, 'यस्तै अपेक्षा हामी नेकपा एमालेबाट पनि गर्छौं ।'
नेता र दलहरूप्रतिको विश्वसनीयता ठूलो परीक्षामा रहेको समेत उनले बताए । 'कांग्रेस-एमालेबीच सरकार आलोपालो गर्ने हस्ताक्षर जुन गरिएको छ, त्यो तल-माथि हुनुहुँदैन,' उनले भने ।