१६ असार २०८३, मंगलबार
लुम्बिनी प्रदेशमा नयाँ सरकारको कसरत

लुम्बिनीको नेतृत्व लिन एमाले र कांग्रेसबीच हानथाप, केन्द्रको निर्देशन कुर्दै दुई दाबेदार

मन्त्री बन्ने ‘लबिङ’का लागि सांसदहरूको काठमाडौंमा लर्को
साउन ५, २०८१
बुटवल
लुम्बिनीको नेतृत्व लिन एमाले र कांग्रेसबीच हानथाप, केन्द्रको निर्देशन कुर्दै दुई दाबेदार
मुख्यमन्त्रीका दुई दाबेदार एमालेका लीला गिरी र कांग्रेसका डिल्लीबहादुर चौधरी ।

लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिन नेकपा (एमाले) र नेपाली कांग्रेसबीच हानथाप शुरू भएको छ । नयाँ सत्ता समीकरणअनुसार लुम्बिनीको नेतृत्व लिन दुवै दलले दाबी गरेका हुन् । 

केन्द्रबाट कुन दलले नेतृत्व गर्ने भन्ने ‘सिग्नल’ नपाउँदा दुवै दलले केन्द्रीय नेतासामु ‘लबिङ’ तीव्र बनाएका छन् । यसका लागि एमाले संसदीय दलका नेता लीला गिरी र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी काठमाडौंसम्म गए ।

केन्द्रमा गत असार १७ गते मध्यराति दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको थियो । त्यसयता लुम्बिनीको नेतृत्व एमालेले पाउने चर्चा भएपनि कुन प्रदेशको नेतृत्व कुन दलले लिने भन्ने अहिलेसम्म आधिकारिक टुंगो लाग्न सकेको छैन । एमालेका गिरीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई र चौधरीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर बुटवल फर्किसकेका छन् । 

नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतवार विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाउने प्रायः निश्चित छ । यस्तोमा कांग्रेस संसदीय दलका नेता चौधरीले नेतृत्वका लागि आफूहरूको दाबी रहेको बताउँदै केन्द्रको निर्देशनअनुसार नै लुम्बिनीमा सरकार बन्ने स्पष्ट पारे । ‘अहिलेसम्म केही टुंगो लागेको छैन,’ चौधरीले भने, ‘केन्द्रको निर्देशन कुरेर बसेका छौं, निर्देशन मानेर नै अघि बढ्छौं ।’ 

दुई ठूला दलबीच बागमती प्रदेशको नेतृत्व कांग्रेस र लुम्बिनीको एमालेले लिने मोटामोटी सहमति भएको बताइन्छ । तर, पछिल्लो समय बागमतीभन्दा लुम्बिनीको नेतृत्व लिन कांग्रेस इच्छुक भएपछि हानथाप बढेको हो । 

लुम्बिनी प्रदेशसभामा ठूलो दल एमाले छ । एमाले सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले एमालेले नै लुम्बिनी सरकारको नेतृत्व गर्ने बताए । 'केन्द्रबाट अहिलेसम्म आधिकारिक टुंगो आएको छैन । आइतवार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

कांग्रेस नेता चौधरी पार्टी सभापति देउवाको विश्वास पात्र हुन् भने गिरी एमाले उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन् ।  

यसैबीच, कांग्रेस र एमालेका प्रदेश सांसदहरूको भने मन्त्री बन्ने ‘लबिङ’का लागि तीव्र दौडधुप चलिरहेको छ । कांग्रेसका सांसदहरू मन्त्री बन्न सभापति देउवालाई रिझाउन केन्द्रित रहेको बताइएको छ ।

त्यस्तै एमालेका सांसदहरू पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली, उपाध्यक्ष पौडेल, महासचिव शंकर पोखरेललाई भेट्न पुगेका छन् । एमाले र कांग्रेस प्रदेशमा सरकार गठनका लागि जुटेपछि  सांसदहरूले मन्त्रीका लागि आन्तरिक ‘लबिङ’ तीव्र पारेका हुन् ।

कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सेना, सचेतक निमा गिरी, पूर्वमन्त्री राजु खनाल, रुपन्देहीका सांसद देवी चौधरी र पश्चिम नवलपरासीका देवकरण जैसवाल काठमाडौं पुगेका छन् । 

यस्तै एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरी, पूर्वमन्त्रीहरू भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, रत्न खत्री र चेतनारायण आचार्य पनि काठमाडौंमा अड्डा जमाएर बसेको बताइएको छ । 

लुम्बिनीमा दुई ठूला दलको दुई–तिहाईसहितको सरकार बन्दैछ । 


 

salt training

कमेन्ट गर्नुहोस्