१८ असार २०८३, बिहीबार
सुरक्षा निकायका प्रमुखबीच विवाद

मोरङका दुई एसपीबीच विवाद: एक-अर्काविरुद्ध बेनामे उजुरी, तस्करसँग लाखौँ रकम असुलेको आरोप

साउन ९, २०८१
विराटनगर
मोरङका दुई एसपीबीच विवाद: एक-अर्काविरुद्ध बेनामे उजुरी, तस्करसँग लाखौँ रकम असुलेको आरोप
एसपीद्वय नवराज कार्की र तीलक प्रसाईं ।

तस्करीको विषयलाई लिएर मोरङमा सुरक्षा निकायका प्रमुखहरूबीचकै विवाद छताछुल्ल भएको छ । तस्करसँग सेटिङ गरेर रकम असुलेको भन्दै मोरङका तीन एसपीविरुद्ध उजुरीसमेत परेपछि विवाद छताछुल्ल भएको हो । मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरीका एसपी विश्व खड्का र राष्ट्रिय अनुसन्धानका एसपी तीलक प्रसाईँविरुद्ध छुट्टाछुटै उजुरी परेका हुन् । 

सशस्त्र प्रहरीका एसपी विश्व खड्काले भने सफाइ पाइसकेका छन् । ​खड्काविरुद्ध तस्करसँग मिलेमतो गरेको बेनामे उजुरी परेपछि हेडक्वाटर तानेर अनुसन्धान भएको थियो । उनले सफाइ पाएका हुन् । 

दुई सुरक्षा निकायका प्रमुखविरुद्धको उजुरी भने फरक छ । सुरक्षा स्रोतका अनुसार २०८१ असार ३ गते मोरङका प्रहरी प्रमुख कार्कीले परिचालन गरेका घुमुवाविरुद्ध प्रधानमन्त्री कार्यालयमा एउटा बेनामे उजुरी परेको थियो । 

कार्कीले मोरङमा आउनासाथ घुमुवा नराख्ने घोषणा गरेका थिए । एसपी दीपक पोख्रेलले त्यसअघिका घुमुवाहरूलाई हटाएका थिए । तर, त्यही दिनबाट एसपी कार्कीले नयाँ घुमुवा राखेको प्रहरीहरू बताउँछन्  । 

उजुरी परेपछि  छानबिन गर्न प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयमा परिपत्र गरेको थियो ।  गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न निर्देशन दिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले अनुसन्धान गरेको थियो । त्यति बेला घुमुवाहरूको बदनियत नदेखिएको प्रतिवेदन कोशी प्रदेश प्रहरी कार्यालयले हेटक्वाटरमा पठाएको थियो । 

उनीविरुद्ध मोहम्मद रफिकको नामबाट प्रधानमन्त्री कार्यालयमा निवेदन परेको थियो । उनी को हुन् भन्नेमा प्रहरीसमेत अनविज्ञ छ । स्रोतका अनुसार एसपी कार्की र उनले परिचालन गरेका घुमुवाले तस्करीको सेटिङ मिलाएको र लाखौँ रकम लिने गरेको उजुरीमा उल्लेख थियो ।

सीमा नाका, ढाट, दरैया, पोष्ट, उखुबारी, मटेरुवा, इस्लामपुरबाट तस्करी भइरहेको निवेदनमा दाबी गरिएको छ । भन्सार नतिरी लत्ताकपडा, लेडिज आइटमहरू आइरहेको निवेदकको दाबी छ । 

मोहम्मदले दिएको निवेदनमा कपडा तस्करहरूबाट मासिक साढे १० लाख, माछा व्यापारीबाट ९ लाख, किराना पसलबाट २ लाख, भन्सार एजेण्डबाट १ लाख, तरकारी, कुखुरा, ग्याँसका सामान, हार्डवेयर पसल तथा गाई गोरु तस्करहरूबाट लाखौँ रुपैयाँ गरेर मासिक ३० लाखसम्म असुल्ने गरेको उल्लेख छ । 

उजुरीमा प्रहरीले कोसँग कति रकम असुली गर्‍यो भन्ने नाम, मोबाइल नम्बर र रकम उल्लेख गरिएको छ । अझ रोचक कुरा त के छ भने यस्तै व्यहोराको अर्को निवेदन राष्ट्रिय अनुसन्धानका एसपी प्रसाईँविरुद्ध पनि परेको छ । तस्करीको धन्दा चलाएको भन्दै उनीविरुद्ध पनि प्रधानमन्त्री कार्यकालमा उजुरी परेको हो । उनीविरुद्ध मुसाफिरको नाममा निवेदन दिइएको हो ।

यसमा पनि तस्करहरूको नाम र फोन नम्बरसमेत एउटै छ । 

प्रधानमन्त्रीको सचिवालय, गृह मन्त्रालय, अनुसन्धान महानिरीक्षक र जिल्ला प्रशासन कार्यालयलाई पनि बोधार्थ दिइएको छ । अफिसमै बोलाएर एसपीले पैसा मागेको आरोप निवेदनमा छ । प्रसाईँमाथि राष्ट्रिय अनुसन्धानको केन्द्रीय कार्यालयले छानबिन गरेको सुरक्षा स्रोतले जनाएको छ । 

दुई एसपीले नै एकअर्काविरुद्ध उजुरी दिएको आशंका छ । आफूविरुद्ध अनुसन्धानका एसपी प्रसाईँले उजुरी दिएको भन्दै नेपाल प्रहरीका एसपी कार्कीले काउन्टर उजुरी दिएको सुरक्षा निकायकै कर्मचारीहरू बताउँछन् । 

प्रसाईँ र कार्कीको पुरानै दोस्ती हो । झापामा हुँदा एसपी कार्की इलाका प्रहरी कार्यालय दमकमा थिए । प्रसाईँ भने अनुसन्धानकै प्रमुख थिए । झापामा हुँदा सम्बन्ध राम्रो भए पनि मोरङमा आएपछि भने सीमा नाका कडाइ गर्ने विषयलाई लिएर विवाद बढेको उच्च सुरक्षा स्रोतले बतायो । 

स्रोतका अनुसार एसपी कार्कीविरुद्ध दोस्रोपटक एउटै ब्यहोराको उजुरी परेपछि अनुसन्धानबाहेक मोरङका सुरक्षाका प्रमुखहरूको बैठकसमेत बसेको थियो । प्रदेश प्रहरी कार्यालयमा बसेको बैठकमा दुई एसपी र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसमेत बसेको उच्च स्रोतले बतायो । 

बैठकले अनुसन्धानका एसपी प्रसाईँले उजुरी हालेको दाबी गरेको स्रोतले बतायो । मोरङ प्रहरीकै यसभन्दा अगाडिका एसपी दीपक पोख्रेलका पालाका एसपी प्रसाईँसँग मिलेर उजुरी दिएको निष्कर्षमा बैठकले निकालेको स्रोतले बतायो । नेपाल प्रहरीकै दुई जना एसपीबीच पनि टक्कर देखिएको छ । पोखरेलको कार्यकालमा मोरङको घुमुवा इन्चार्ज थिए वरिष्ठ सई राजेन्द्र कटुवाल । 

मोरङमा तस्करी मौलाएको रिपोर्ट पुगेपछि केही समय अगाडि आईजीपी वसन्त कुँवरले एसपी कार्कीलाई हेडक्वाटर तान्न खोजेका थिए । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी चन्द्र कुबेर खापुङले काँध थापेका कारण उनी मोरङमै रहेको स्रोत बताउँछ । 

तस्करीबारे खोजबिन गर्दा तस्करीको सामान गोदाममा थन्क्याएर प्रहरीकै सामुन्ने नेपाल छिराउँदै गरेको सीसीटीभी फुटेजहरू भए पनि सुरक्षा निकायहरू मौन रहेको सीमामा बस्ने स्थानीयको आरोप छ । 

मोरङमा दुई महिनादेखि तस्करी मौलाएको उच्च सुरक्षा स्रोतले बताएको छ । ‘सशस्त्र प्रहरीका तत्कालीन कोशी प्रदेश प्रमुख डीआइजी अञ्जनी पोखरेलले आफ्ना निकायलाई कडाइ गर्दा कोशी प्रदेशमै तस्करी रोकिएजस्तै थियो,’ एक प्रहरी अधिकृतले भने, ‘दुई महिनायता चाहिँ निकै तस्करी मौलाएको खबरहरू आइरहेका छन् ।’ 

२०८१ वैशाख १८ गते पोख्रेलको सरुवा भएको थियो ।

अनुसन्धानका प्रमुख प्रसाईँले आफूविरुद्ध बेनामे उजुरी कसैले हालेको भए पनि त्यसबारे हेडक्वाटरले छानबिन गरेर क्लियरेन्स दिइसकेको बताए । ‘मेराविरुद्ध कसैले नियतबश उजुरी हालेको रहेछ,’ उनले भने, ‘त्यसबारे हेडक्वार्टरले छानबिन गरेर उजुरी गलत भनिसकेको छ ।’ 

यता मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले पनि कसैले आरोपित गर्नकै लागि बेनामे उजुरी दिएको दाबी गरे । ‘कसले निवेदन हाल्यो । हामी पनि छानबिन गरी रहेका छौ,’ उनले भने, ‘यसमा सत्यता छैन ।’ 

उनले आफ्नो कुनै संलग्नता नरहेको दाबी पनि गरे । ‘बेनामे उजुरी आधारहीन र प्रमाणहीन छ,’ उनले भने, ‘कसैले बदनाम गर्नकै लागि उजुरी दिएको हो, त्यसको अर्थ छैन ।’ उनले सीमा क्षेत्रबाट तस्करी भइरहेको आरोप अस्वीकार गरे ।

salt training

कमेन्ट गर्नुहोस्