बलेवा-समयमै वर्षा भएकाले यस वर्ष बागलुङका किसानले समयमै धान रोप्न पाए । धान रोपेको एक महिना भएको छैन । हरियो भएर गाँज लाग्ने बेला फेद कुहिन थालेको छ । फेद कुहिने र गाँज मर्ने समस्या देखापरेपछि किसान चिन्तित बनेका छन् ।
बागलुङ नगरपालिकाको पैयुँपाटा, अमलाचौर, नारायणस्थान, सिम, कालीमाटीका खेतमा रोपेको धान दुई साता नपुग्दै मर्न थालेको हो । धानको फेद र डाँठ कुहिएर पहेँलो हुँदै मर्न थालेको किसान लालप्रसाद शर्माले बताए । ‘धान गोड्ने समय हुँदै थियो, ढुसीजन्य रोग फैलिएर धानको फेद कुहिने र पात मर्ने समस्या देखिन थालेको छ,’ शर्माले भने ।
हिउँदभरि खानपुग्ने अन्न उब्जाउन दुःख गरेर रोपेको धानका गावा खाली हुँदै गएका छन् । अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए । उत्पादन बढ्नेमा ढुक्क किसान एकाएक रोगको प्रकोप देखिन थालेपछि अहिले निराश बनेका छन् ।
‘यस वर्ष समयमै वर्षात् हुँदा रोपाइँ सकेर उम्किएका थियौँ,’ बागलुङ–१३ पैँयुपाटाका किसान मुक्तिराम शर्माले भने, ‘अहिले धान उत्पादन पनि बढ्ने भो भनेर निकै आशावादी थियौँ, रोपेको दुई साता नपुग्दै फेद कुहिने समस्याले सबै धान मर्न थालेपछि सोचेजस्तो धान उत्पादन हुने भएन ।’
रोग नियन्त्रणको उपाय खोजी भइरहेको उनले जानकारी दिए । उनले अधिकांशको पानीमा राखिएको बीउमा यो समस्या देखिएको बताए । शर्माको झण्डै पाँच रोपनी खेतमा यो समस्या देखिएको छ ।
धानमा समस्या देखिएपछि नगरपालिकाले कृषि प्राविधिकसहितको टोली अनुसन्धानका लागि पठाएको छ । नगरपालिकाले तत्काल ढुसीजन्य रोग नियन्त्रणका लागि केही विषादी किसानलाई उपलब्ध गराएको बागलुङ–१३ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार नगरपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकको स्थलगत अनुगमनपश्चात् रोग नियन्त्रणका लागि गर्न सकिने प्रयासको थालनी गरिएको छ । नगरभित्र झण्डै दुई सय रोपनी क्षेत्रफलको खेतमा यो समस्या देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुवास सापकोटा बताउँछन् ।
उनले यसको रोकथामका लागि किसानलाई ‘बेबिस्टिन’ नामक विषादी उपलब्ध गराइएको र खेतमा विषादी राख्ने काम भएको बताए । ‘धानको फेद कुहिने समस्या नगरक्षेत्रका विभिन्न वडामा देखिएको छ,’ सापकोटाले भने, ‘विशेषगरी स्थानीय जातका धानबाली, एक्ले, गुडुरा, खुमलटार र गौरीयालगायत धानमा यो समस्या बढी देखिएको छ ।’
उनले रोग नियन्त्रणका लागि किसानलाई खेतमा पानी सुकाएर औषधि प्रयोग गर्ने र एक सातामा एक दिनमात्र पानी लगाइ अन्य दिन सुक्खा राखेमा समस्याको समाधान हुने बताए । समयमा रोकथाम हुन नसकेमा प्रकोपग्रस्त क्षेत्रको धान उत्पादनमा झण्डै ५० प्रतिशतको बीचमा गिरावट आउनसक्ने उनको भनाइ छ ।
रोगको प्रकोप समयमै नियन्त्रणमा लिनसके उत्पादनमा ठूलो गिरावट नआउला,’ सापकोटाले भने । ढुसीजन्य रोगको प्रकोप पानीका माध्यमबाट सर्ने गर्दछ । विगत वर्षदेखि नै बागलुङका विभिन्न क्षेत्रमा यस प्रकारको समस्या देखा परिरहेको छ । धानबालीको फेद कुहिएको देख्नेबित्तिकै त्यसलाई उखेलेर नष्ट गर्ने गरेमा यो रोग अन्य बिरुवामा नसर्ने प्राविधिकहरू बताउँछन् । –रासस