
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले आज सार्वजनिक गरेको नौैबुँदे प्रतिबद्धता कार्यप्रगतिको मापनको आधार भएको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘वार्षिक समीक्षा तथा बजेट कार्यान्वयन योजना तयारी कार्यक्रम’ मा सार्वजनिक गरिएको साझा प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित हुन प्रदेश सचिवसहित कार्यालय प्रमुखलाई उनले निर्देशन दिए ।
उनले भने, “शक्ति र पहुँचका आधारमा होइन, ऐन, नियम, विधि र पद्धतिअनुसार बजेट कार्यान्वयन तथा योजनाको काम हुन्छ । योजना व्यवसाय, धन्दा र जीविकोपार्जन गर्ने गलत अभ्यासको अन्त्य गरिन्छ । यहाँ कार्यरत सबैको विज्ञतालाई कर्णालीमा प्रयोग गर्ने वातावरण निर्माण हुन्छ यद्यपि हरेकले आचरण सुधार गर्न जरुरी छ ।” अन्य प्रदेशले सर्हना गर्नेगरी कर्णालीलाई शून्य बेरुजु भएको प्रदेशका रुपमा स्थापित गर्न कर्मचारीलाई उनले सुझाए ।
मुख्यमन्त्री कँडेलले भने, “जनप्रतिनिधि र कर्मचारीलगायत सबै सरोकारवालाले विचार, कार्यशैली, सोच र व्यवहार बदलौँ र जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य पूरा गरौँ । प्रतिकुलता, विकटता, पछौटेपन र समस्या भएको प्रदेशमा दिलैदेखि काम गरुन् भनेर प्रदेश सरकारले प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ ।”
कर्णाली प्रदेशका प्रमुख सचिव चुँडामणि पौडेलले प्रदेश सरकारले सार्वजनिक गरेको नौँबुद्ध साझा प्रतिबद्धता वाचन गर्दै प्रदेश सचिव तथा जिल्ला कार्यालयका प्रमुखलाई यसलाई मूलमन्त्रका रुपमा लिएर काममा लाग्न निर्देशन दिए ।
स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि, निर्देशिका तथा मापदण्ड भदौ मसान्तत्रि तर्जुमा र असोज १५ भित्र स्वीकृत गरिने बताउँदै मुख्यसचिव पौडेलले यसअन्तर्गत सालबसाली आयोजना असोज १५ भित्र खरिद प्रक्रिया अगाडि बढाउनुका साथै बहुवर्षीय र क्रमागत आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने बताए ।