
नेकपा (माओवादी केन्द्र)कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । हिक्मतकुमार कार्की नेतृत्वको कोशी सरकारमा सहभागी माओवादीका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् ।
कोशीमा माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, स्वास्थ्यमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बहादुर मगर मन्त्री छन् ।
यस्तै, पर्यटनमा वन्दना झागर राज्यमन्त्री छन् ।
संसदीय दलको नेतासँग भेटेपछि आजै राजीनामा दिने भौतिक पूर्वाधार विकास मन्त्री उप्रेतीले बताए । ‘संसदीय दलका नेता झापाबाट आउँदै हुनुहुन्छ,’ उनले भने, ‘उहाँ आएपछि राजीनामा दिन्छौं ।’
केन्द्रमा सत्ता समीकरण फेरिएको एक महिना हुनै लाग्दासमेत माओवादी कोशी सरकारबाट बाहिरिएको थिएन । मुख्यमन्त्री कार्कीले तत्काल सरकार नछाड्न माओवादीलाई आग्रह गर्दै आएका थिए ।